☰ open Loading... 19 September 2024|  

मलेसियामा नयाँ कामदारको एप्रुभल खोल्न माग
  | ९ श्रावण २०८०, मंगलवार ०५:२६

मलेसिया : मलेसियाका रोजगारदाताहरूले कम्पनीमा कामदारको अभावले उत्पादन घटेको भन्दै विदेशी कामदारको एप्रुभल रोक्ने गृह मन्त्रालयको निर्णय तत्काल परिवर्तनको माग तीव्र पारेका छन् । नेपालमा जस्तै मलेसियामा पनि आर्थिक वर्ष परिवर्तनको समय छ । तर कम्पनीहरुले राम्रो प्रगति देखाउन सकिरहेका छैनन् । त्यसका पछाडि आप्रवासी कामदारको अभाव रहेकोे उनीहरूको भनाइ छ ।

 

मलेसियाका उत्पादक अर्थात रोजगारदाताहरूले विदेशी कामदारको एप्रुभल रोकेको गृह मन्त्रालयले तत्कालै आफ्नो निर्णयमा पुनर्विचार गर्नुपर्ने भन्दै आफूहरू मन्त्रालयसँग वार्ताका लागि आतुर रहेकोे बताएका छन् । उनीहरूले बजारको माग र रोजगारदाताहरूको मेरिटको आधारमा विदेशी कामदारको एप्रुभल प्रक्रिया शुरू गर्नुपर्नेमा जोड दिएका छन् ।

 

मलेसियन म्यानुफ्याक्चर्स फेडेरेसनका अध्यक्ष तानश्री सो थिनलाईले निर्धारण गरिएका कोटा बाँकी नभएको र आवेदनको औचित्य प्रमाणित गर्न सक्ने रोजगारदाताहरूको कोटा स्वीकृत गरिनु आवश्यक रहेकोे स्थानीय दि स्टार अनलाइनलाई बताएका छन् । उनले विदेशी कामदारको अभावले मलेसियाको अर्थतन्त्रमा परेको नकारात्मक असरबारे छलफल गर्न गृहमन्त्रीसँग समय मिलाइरहेको पनि बताएका छन् ।

 

मलेसियाको साना तथा मझौला उद्योगीहरूको संगठन एसएमई एशोसियसनका अध्यक्ष डिङ सोङ सिङले पनि चौथो त्रैमासिकमा राम्रो वृद्विदरका लागि पनि विदेशी कामदारको जरुरी रहेकोे बताए ।

 

मलेसियामा नयाँ कामदारको एप्रुभल रोकिँदा नेपालबाट जाने कामदारको संख्या पनि निरन्तर ओरालो लागेको छ । त्यसले नेपाल भित्रिने रेमिट्यान्सलाई पनि प्रभाव पार्ने देखिएको छ । अर्कोतिर नेपालमा मलेसियाको डिमाण्ड नहुँदा मलेसिया जान चाहने कामदारहरूले अघिल्ला महिनाहरूमा भन्दा चर्को रकम खर्चिनु परेको गुनासो बढेको छ ।