☰ open Loading... 16 September 2024|  

सुन तस्करीमा आफ्नो संलग्नता छ की छैन ? गृहमन्त्रीले प्रमाणित गर्नुपर्‍यो : ओली
  | १० श्रावण २०८०, बुधबार ०८:००

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट समातिएको सय केजी सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नता रहेको आशंका व्यक्त गरे ।

कम्बोडियामा आइतबार सम्पन्न भएको निर्वाचन पर्यवेक्षण गरेर सोमबार राति स्वदेश फर्किएका एमाले अध्यक्ष ओलीले विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहे नरहेको स्पष्ट पार्न आग्रह गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष ओलीले भने, ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ, आफू । उहाँले एयरपोर्टमा सुरक्षाको बन्दोबस्त गरेको छ की छैन ? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो की होइन ? यहाँ के आउने के जाने ती चिजहरूको निरीक्षण गर्ने काम उहाँको हो की होइन ? अनि क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ । गृहमन्त्री कोटको गालामा र टारको गालामा काँक्राको बियाँ अर्काको गालामा मुखैका छेउमा लगेर टाँस्दै बस्छन् । यो अत्यन्तै अनैतिक क्रियाकलाप हो । यस्ता गैर जिम्मेवार कुरा गरेर हिँड्ने गृहमन्त्रीले ? उहाँले बताउनुपर्‍यो उहाँको संलग्नता छ छैन ? सानोतिनो संलग्नताबाट यो काम त भएको छैन होला ! उहाँको चाहिँ संलग्नता छ छैन ? छैन भने कसको संलग्नता छ ? को छ यसमा ? यतिकै कोटको गालामा बियाँ टाँस्ने होइन ।’

गृहमन्त्री श्रेष्ठका पछिल्ला अभिव्यक्ति अनैतिक र गैरजिम्मेवार रहेको आरोप लगाउँदै ओलीले जथाभाबी नबोल्न पनि आग्रह गरे । ओलीले भने, ‘म उहाँलाई सचेत गराउन चाहन्छु । गृहमन्त्रीको हैसियतले उहाँले बोल्दा तरिका पुर्‍याएर बोल्नुपर्छ । बत्तमीज हुनु एउटा कुरा हो । तर यो त गैर जिम्मेवारको हद भयो । जथाभाबी बोल्ने गृहमन्त्री भएर ?जथाभाबी बोल्न गृहमन्त्रीलाई छुट छ ? अनि अर्को कोही उनको जबाफदेहिताको कुरा उठायो भने मुद्दा हाल्न जाने ? गृहमन्त्रीविरुद्ध मुद्दा हाल्ने की नहाल्ने ? गृहमन्त्रीले कोट र टारका सम्बन्धमा चर्चा गरेको त्यसको अर्थ के हो ?’

सुन तस्करी प्रकरणमा आफूलाई पनि जोडेर केही सञ्चार माध्यमले समाचार प्रकाशन तथा प्रसारण गरेको भन्दै ओलीले असन्तुष्टि जनाए । उनले भने, ‘चेम्बरको अधिवेशनमा खिचिएको व्यापारीसँगको फोटो गैर जिम्मेवार ढङ्गले छाप्यो । चेम्बरमा व्यापारी नभएर को किसान हुन्छ त ? त्यो फोटो छाप्छ । अत्यन्तै गैर जिम्मेवार ढङ्गले । यस्ता गम्भीर विषयलाई डाइभर्ट गर्न खोज्छ । ध्यान कता मोड्न खोजेको ? के छोप्न खोजेको ? आकाशमा चिल देखाएर यता के लुकाउन खोज्दै छ ? के छोप्न खोजिँदै छ ?

कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागिसाउन २ गते त्यसतर्फ गएका ओली सोमबार राति काठमाडौँ आइपुगेका हुन् ।

कम्बोडियामा आइतबार सम्पन्न राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री हुन सेन नेतृत्वको कम्बोडियन पिपुल्स पार्टीले बहुमत प्राप्त गरेको छ । सेनको कम्बोडियन पिपुल्स पार्टीले कुल १२५ सिटमध्ये १२० सिट जितेको छ ।