☰ open Loading... 7 September 2024|  

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै कर्णाली
  | १० श्रावण २०८०, बुधबार ०८:०१

केही वर्षअघिसम्म कर्णालीका नागरिकले सामान्य बिरामी हुँदा पनि स्वास्थ्य जाँचका लागि बाहिर जानुपर्ने अवस्था थियो। संघीयताअघि तत्कालीन मध्यपश्चिम विकास क्षेत्रको क्षेत्रीय अस्पताल सुर्खेतमै थियो। बिरामीलाई भेरी अञ्चल अस्पताल बाँके पठाउने गरिन्थ्यो। अस्पतालको नाम क्षेत्रीय स्तरको भए पनि सेवासुविधा जिल्ला अस्पतालबराबरको पनि थिएन।

संघीयतासँगै कर्णालीले स्वास्थ्य क्षेत्रमा ठुलो फड्को मारेको छ। जिल्ला अस्पतालहरूको स्तरवृद्धि गरिएको छ। पहिले डाक्टरको खोजीमा भौंतारिने कर्णाली अहिले डाक्टर उत्पादन गर्नसक्ने अवस्थामा पुगेको छ। केही वर्षअघिसम्म सामान्य अवस्थाका बिरामीलाई बाहिर पठाउने कर्णाली अहिले जटिल रोगको शल्यक्रिया गर्नसक्ने भएको छ। कर्णालीमा अहिले बाहिरका बिरामी पनि उपचार गराउन आउन थालेका छन्।

संघीयतापछि मध्यपश्चिम क्षेत्रीय अस्पताललाई प्रदेश अस्पताल बनाइयो। प्रदेश सरकार मातहतको यो अस्पताल अहिले कर्णालीको भरपर्दो स्वास्थ्य संस्था बनेको छ। हालै प्रदेश अस्पतालले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेको छ। गत माघ २१ गते पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेको अस्पतालले नयाँ आर्थिक वर्षसँगै यसलाई निरन्तरता दिन लागेको छ।

दुई वर्षअघि नै कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सम्झौता भएको थियो। स्वास्थ्य सेवा विभागको अंग प्रत्यारोपण समन्वय समितिले मानव अंग प्रत्यारोपणका लागि अनुमति दिन ढिलो गर्दा मिर्गौला प्रत्यारोपण सेवा सुरु गर्न ढिलो भएको हो।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कर्णाली प्रदेश अस्पतालको वातावरण, उच्च प्रविधि र दक्ष जनशक्तिका कारण मिर्गौला प्रत्यारोपण सहज भएको बताए। ‘अब यही साउनदेखि निरन्तर मिर्गौला प्रत्यारोपणको योजना हामीले बनाएका छौं,’उनले भने, ‘एक वर्षसम्म राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सकको प्रत्यक्ष निगरानीमा मिर्गौला प्रत्यारोपणको काम हुन्छ।’

डा. श्रेष्ठले अहिले मिर्गौला प्रत्यारोपण गर्ने बिरामीको चाप सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अत्यधिक रहेकाले अब त्यस्ता बिरामीलाई सुर्खेतमा स्थानान्तरण गरिने बताए। ‘राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौलाका बिरामीको चापलाई ध्यानमा राखेर प्रत्यारोपण सेवा देशभर विस्तार गर्ने लक्ष्य हामीले राखेका छौं,’उनले भने, ‘सोही लक्ष्यअनुसार कर्णाली प्रदेश अस्पताललाई प्रमुख रूपमा मिर्गौला प्रत्यारोपण केन्द्र बनाउँदैछौं।’ उनले कर्णाली प्रदेश अस्पतालको व्यवस्थापकीय र चिकित्सकीय टोली उत्कृष्ट रहेकाले प्रत्यारोपण सेवालाई प्राथमिकता दिइएको बताए। ‘अप्रेसन थिएटर, उपकरण आधुनिक छन्,’ उनले भने, ‘चिकित्सकदेखि अस्पतालको वातावरण पनि उत्कृष्ट रहेकाले राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आएका बिरामीलाई पनि यहाँ पठाउँछौं।’

प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले दोस्रो पटक पनि सफल मिर्गौला प्रत्यारोपण गरिएकाले चिकित्सकमा आत्मविश्वास बढेको बताए। उनले केही जनशक्ति संघीय सरकारले उपलब्ध गराए दैनिक एकदेखि तीनजनासम्ममा मिर्गौला प्रत्यारोपण गर्न सकिने बताए। ‘हामीसँग प्राविधिक जनशक्ति अभाव छ, भौतिक पूर्वाधार र जनशक्ति पर्याप्त छ,’उनले भने, ‘प्राविधिक जनशक्ति मात्रै भइदिए दैनिक एकदेखि तीन जनाको मिर्गौला प्रत्यारोपण गर्न सक्थ्यौं।’

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेको प्रदेश अस्पतालले भौतिक पूर्वाधारसँगै सेवा विस्तार पनि गरिरहेको छ। पाँच सय शड्ढयासहितको अस्पताल बनाउन पूर्वाधार निर्माण भइरहेको छ। अस्पतालका निर्देशक डा. खड्काले अस्पताललाई पाँच सय शड्ढयाको बनाउनेगरी भवनको तला थप गर्न लागिएको बताए। भवनको तला थप गर्न टेन्डर आह्वान भइसकेको छ।

मिर्गौला प्रत्यारोपणसँगै अस्पतालले अप्थाल्मोलोजी, न्युरो सर्जरी र स्पाइनल सर्जरी सेवा पनि दिइरहेको छ।अस्पतालमा अक्सिजन प्लान्टसँगै पाइप लाइन जडान तथा सञ्चालन हुँदै आएको छ। अस्पतालले रक्तसञ्चार सेवा सञ्चालन र खाना पकाउने सोलार सिस्टम पनि जडान गरेको छ। प्रदेश अस्पताललाई प्रतिष्ठानका रूपमा विकास गर्न पनि पहल भइरहेको छ। यसका लागि सुर्खेत स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐनको मस्यौदा तयारी भइरहेको छ। सेवा विस्तारसँगै पछिल्लो समय अस्पतालमा बिरामीको चाप पनि बढेको छ। यहाँ अहिले लुम्बिनी, सुदूरपश्चिम प्रदेशसहित भारतबाट पनि बिरामी उपचारकाे लागि आउने गरेका छन्।