☰ open Loading... 16 September 2024|  

प्रत्येक घरमा खानेपानीको धारा
  | १४ श्रावण २०८०, आईतवार ०५:३०

जुम्लाको हिमा गाउँपालिकाको तीन वटा बस्तीको प्रत्येक घरमा खानेपानीको धारा पुगेको छ। गाउँपालिकाको – ४ बड्की गाउँका १ सय ६१ घरधुरी, ५ वटा विभिन्न कार्यालय गरी १ सय ६६ धारा , वडा नम्बर-५ बाजगाडमा १ सय ३६ घरधुरी र वडानम्बर-६ को डाडाबाडामा ७४ घरधुरीमा खानेपानीको धारा पुर्‍याइएको हो।

नेपाल सरकार, हिमा गाउँपालिका, फिनल्यान्ड सरकार, र युरोपियन युनियनको सहयोगमा सञ्चालन भइरहेको सबैका लागि दिगो खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय आयोजना (सुस्वा) अन्तर्गत ३ गाउँका सबै घरधुरीमा खानेपानीको पहुँच पुगेको वास संयोजक सुमिता शाही बताइन्।

उनका अनुसार बुधबार हिमा गाउँपालिकाको बड्की गाउँमा सबै घरधुरीमा धारा पुगेपछि गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही, उपाध्यक्ष सुपर्ना शाही, प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढा, स्थानीयवासी, सरोकारवाला निकायको उपस्थितिमा भव्य कार्यक्रम गरी खानेपानीको धाराको उद्घाटन गरिएको थियो।

बड्की गाउँका सबै घरधुरीमा खानेपानी पुर्‍याउनका लागि स्थानीयको अगुवाइमा बड्क्री खानेपानी तथा सरसफाई आयोजना सुरु गरिएको थियो। जसमा अनुमानित १ करोड १२ लाख ६८ हजार ५९ रुपैयाँमध्ये १ करोड ११ लाख ६६ हजार १ सय ९७ रुपैयाँ खर्च भएको छ।