☰ open Loading... 7 September 2024|  

प्रमुख प्रशासकीय अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  | १४ श्रावण २०८०, आईतवार ०५:३६

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत ललितजङ्ग मल्लसहित सात जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको मुद्दा दर्ता भएको छ ।

छायाँनाथ रारा नगरपालिका- २ मा पार्क निर्माण गर्दा अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत मल्ल, तत्कालीन लेखापाल रुनबहादुर सेजुवाल, कम्प्युटर अपरेटर केशरबहादुर रावल, तत्कालीन इन्जिनियर महेशसिंह कठायत र तत्कालीन असिस्टेन्ट सब-इन्जिनियर हस्तबहादुर मल्लविरुद्ध मुद्दा दर्ता भएको हो ।

उनीहरुले जिल्ला वन कार्यालयको कम्पाउण्डभित्र अनुमति नलिई पार्क निर्माण स्थलको टुंगो नलगाई पार्क निर्माणको लागि डिजाइन, नक्सा र लागत अनुमान तयार गर्न लगाई स्वीकृत गरी उपभोक्ता समितिलाई ३८ लाख ४७ हजार ५०० रुपैयाँ पेश्की उपलब्ध गराएका थिए । तर, जिल्ला वन कार्यालयले अनुमति नदिएकाले सम्झौताबमोजिम पार्क निर्माण हुन सकेन । त्यस अवस्थामा निर्मित संरचनाहरु समेतबाट अपेक्षित प्रतिफल प्राप्त हुन नसकी उपभोक्ता समितिलाई भुक्तानी भएको पेश्की फर्छ्योट हुन नसकेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

उनका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुर गरेको हुँदा सो रकम बिगो कायम गरी सोही दफाले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम कैद र जरिवानाको सजाय र सोही ऐनको दफा १७ बमोजिम निजहरुबाट बिगो असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।

उपभोक्ता समितिका अध्यक्ष विष्णुबहादुर रावल र कोषाध्यक्ष वसन्ती रावलले छायाँनाथ रारा नगरपालिकासँग पार्क निर्माणका लागि सम्झौता गरेर उक्त रकम बुझिलिएका थिए । उक्त पार्क निर्माण गर्न जिल्ला वन कार्यालयले अनुमति नदिएपछि सम्झाैताअनुसार काम हुन नसके पनि समितिले बाँकी पेश्की रकम नपामा नबुझाएकाे बताइएकाे छ । सम्झौताबमोजिमको बाँकी कार्य सम्पन्न गर्न नसक्ने भएकोमा नियमानुसार उपभोक्ता समितिबाट भएको कार्यबापतको ४ लाख ६५ हजार ८२ रुपैयाँ कट्टा गरी बाँकी रहेको ३३ लाख ८२ हजार ४१७ रुपैयाँ फिर्ता बुझाई पेश्की फर्छ्योट गर्नुपर्नेमा सो नगरी उपभोक्ता समितिलाई गैरकानूनी लाभ र नेपाल सरकारलाई हानी पुर्‍याएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी बिगोसमेत जफत हुन मागदाबी लिई शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।