☰ open Loading... 20 September 2024|  

रक्सी पिउन लाइसेन्स लिनुपर्ने
  | १७ श्रावण २०८०, बुधबार ०५:२३

जुम्लाको गुठिचौर गाउँपालिकाले मदिरा रहित गाउँपालिका बनाउने योजना अघि सारेको छ। समाजको सभ्यता झल्काई सभ्य नागरिक पहिचान दिलाउन गाउँपालिका यस्तो नियन्त्रण गर्न लागेको हो।

गाउँपालिकाले आउँदो भदौँ महिनाको १ गतेबाट लागु हुने गरी १५ औँ गाउँ सभाबाट मदिरा (रक्सी) नियन्त्रण कार्यविधि २०८० पास गरेको थियो। कार्यविधि आउँदो भदौँ १ गतेदेखि पूर्ण रुपमा कार्यान्वयनमा आउने गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए।

उनले भने, ‘यदि मदिरा सेवा र विक्री वितरण गर्नु पर्ने भए इजाजत कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरिएको छ। बढ्दो मदिरा नियन्त्रण गर्नका लागि यस्तो विधि अपनाइएको हो।’

स्थानीय तहको प्रमुखमा निर्वाचित भएपछि आफ्ना अघिल्तिर समाज सुधार गर्ने ठुलो जिम्मेवारी काँधमा देखिएको अध्यक्ष दानबहादुर बुढा बताउँछन्।

‘समाजलाई राम्रो र प्रगतिशील बाटोतिर लैजाने हो भने मदिरालाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनुपर्छ, उनले भने, ‘मदिरा नियन्त्रण गर्ने नीति गाउँ सभाबाटै पारित गरेका छौँ, मदिरा सेवन गर्न चाहने व्यक्तिले गाउँपालिकाबाट मदिरा सेवन कार्ड लिनु पर्ने, अतिथि मदिरा सेवन कार्ड ,विक्री वितरण र ओसारपसार गर्न नयाँ इजाजत पत्र लिनु पर्नेछ।’

पहिले नै अन्तःशुल्क कार्यालयबाट अनुमति लिएका विक्रीकर्ताले पुनः पालिकामा अभिलेख राख्ने व्यवस्था गरिएको छ। स्थानीय स्तरमा उत्पादन गर्ने, विक्री वितरण तथा ओसारपसार गर्ने व्यक्ति/ व्यापारीले साउन महिनाभित्र इजाजत पत्र लिनुपर्ने व्यवस्था गरिएको हो।

मदिरा विक्री वितरण गर्न इजाजत पत्र लिएका व्यक्ति तथा व्यापारीले सार्वजनिक स्थल विद्यालय, स्वास्थ्य चौकी, मन्दिर, सरकारी तथा गैर सरकारी कार्यालय भन्दा पाँच सय मिटर टाढाको दुरीमा मात्रार ख्न पाइने कार्यविधिमा उल्लेख गरिएको छ।

मदिरा पसल अन्य खाद्यजन्य सामग्रीदेखि अलग्गै राख्नु पर्ने छ। मदिरा विक्री वितरण गर्न इजाजत पत्र लिएका विक्रीकर्ताले अभिलेख चुस्त दुरुस्त राख्नु पर्ने छ। यता गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी) ले मदिरालाई पूर्ण नियन्त्रण गरेमा मात्रै समाजलाई अग्रदिशातर्फ लैजान सकिने बताउँछिन्।

‘नत्र समाजलाई जस्ताको तस्तै छाड्नुको विकल्प छैन। गाउँमा मदिराको अत्यधिक प्रयोगले समाजमा नराम्रो असर परेको छ।’ उनले भनिन्।

जनप्रतिनिधिहरुका अनुसार मदिरालाई सीमित गर्न नसक्दा समाजमा नकारात्मक असर परेको छ। बिस्तारै कम गर्नुको विकल्प नरहेको उनीहरू बताउँछन्।

मदिरा बेच्न र सार्वजनिक रूपमा प्रयोग गर्न नदिने उद्देश्यले समाजलाई प्रशिक्षित गरिएको प्रमुख प्रशासकीय अधिकृत गमबहादुर रोकायाले बताए।

उनले भने, ‘युवाहरूले साथ दिएमा पालिकाभर मदिरामुक्त अभियान सफल हुनेछ।’

जुम्लामा मदिरा निषेधित समाज बनाउने सुन्दर सपना प्रायः सबै जनप्रतिनिधिले देख्ने गरे पनि व्यवहारमा मदिरा नियन्त्रण गर्न ठोस अभियान कमैले चालेको उनले बताए।

‘स्थानीय तहले आँट गरेर योजना ल्याएमा समाज सुधार गर्न लामो समय लाग्दैन’ ,उनले भने।