☰ open Loading... 13 November 2024|  

सामुदायिक वन क्षेत्रमा बनाइएका घर टहरा हटाइयो
  | १९ श्रावण २०८०, शुक्रबार ०५:३३

वीरेन्द्रनगर — सुर्खेतमा सुकुम्बासीका नाममा सामुदायिक वन क्षेत्रमा बनाइएका घर टहरा हटाइएको छ । जिल्लाको बराहताल गाउँपालिका–८ र ५ को बीचमा पर्ने कालिका सामुदायिक वन क्षेत्रमा बनेका २१ घर टहरा हटाइएको हो ।

डिभिजन वन कार्यालय भेरी बाबियाचौरका निमित्त डिभिजनल वन अधिकृत शेरबहादुर रोकायाको नेतृत्वमा घर, टहरामा आगो लगाइएको हो । करिब ५ हेक्टर वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका २१ घरटहरा, छाप्रा हटाई नष्ट गरिएको डिभिजन वन कार्यालय भेरीले जनाएको छ ।

२०७९ असोजमा आएको बाढीले चेपाङ बस्तीका १४ घरमा क्षति पुर्‍याएको थियो । बाढीपीडितहरु भट्टेघारीस्थित वन क्षेत्रमा आई टेन्ट हालेर बसेका थिए । पछि सकुम्बासीका नाममा अन्य व्यक्तिले समेत वन फडानी गरी टहरा बनाएका पाइएकाले हटाइएको डिभिजन वन कार्यालयले जनाएको छ ।

जंगल ओगटेर बसेकाहरुको घर, टहरा जलाइएको प्रहरी चौकी बाबियाचौरका प्रमुख डिलिप बस्नेतले बताए । अन्त घर भएकाहरुले पनि सुकुम्बासीको नाममा रातारात जंगल ओगटेपछि हटाइएको उनले बताए ।