☰ open Loading... 30 November 2024|  

१८ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट ज्ञानेन्द्रको सन्यास
  | २० श्रावण २०८०, शनिबार ०५:३३

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले १८ वर्षे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। शुक्रवार एक कार्यक्रम आयोजना गर्दै मल्लले क्रिकेट करियरबाटै संन्यास लिएको घोषणा गरेका हुन्। उनी नेपाली राष्ट्रिय क्रिकेटका टोलीका भरपर्दा ब्याट्सम्यान थिए। एशिया कपको तयारीका लागि श्रीलंकामा हाइ पर्फमेन्स प्रशिक्षण गरेर नेपाली टोली फर्किएको भोलिपल्ट नै ज्ञानेन्द्रले क्रिकेट करियरबाट सन्यास घोषणा गरे। क्रिकेट करियरबाटै सन्यास लिँदा उनी एकछिन भावुक बने। कप्तान र उपकप्तानको भुमिकाबाट देशको झण्डा बोक्नु जीवनकै खुशीको क्षणको रूपमा लिएको उनले बताए।

डिभिजन ६ देखि नेपालले ट्वान्टी–२० विश्वकप सम्मको यात्रा तय गर्दा ज्ञानेन्द्र नेपाली टोलीका महत्वपूर्ण सदस्य थिए। घरेलु क्लव यङ्गालबाट क्रिकेट खेल्न शुरु गर्नुभएका ज्ञानेन्द्रले उमेरसमूहदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएका थिए।

सन् २००६ को यु–१९ विश्वकप खेलेका उनले सिनियर टोलीबाट ट्वान्टी–२० विश्वकपसम्म यात्रा तय गरे। सन् २००८ को यु–१९ विश्वकपमा नेपाली युवा टोलीको उपकप्तान रहनुभएका ज्ञानेन्द्रले सिनियर टोलीबाट पनि लामो समय सोही जिम्मेवारी सम्हाल्ले।

पछि उनी कप्तान बने। तत्कालीन कप्तान पारस खड्काले राजीनामा दिएसँगै ज्ञानेन्द्रले नेपाली राष्ट्रिय क्रिकेट टोलीको नेतृत्व सम्हालेका थिए। यद्यपि, खेलाडीहरूको पारिश्रमिक विषयलाई लिएर नेपाल क्रिकेट संघ(क्यान) सँग विवाद बढ््यो। सोही विवादमा क्यानले उहाँलाई कारबाही गर्दै सो जिम्मेवारीबाट हटायो।

त्यसपछि उनी सन्दीप लामिछाने र रोहित पौडेलको कप्तानीबाट खेल्दै आएका थिए। खस्कँदो प्र्रदर्शनसँगै टोलीमा स्थान बनाउन उनी असफल हुँदै आएका थिए। कुनै समय आफूले पनि कोही खेलाडीलाई प्रतिस्थापन गरिरहेको उल्लेख गर्दै अहिले आफूले पनि ठाउँ छोड्नुपर्ने आवश्यकता महशुस गरेको उनको भनाइ छ।

एउटा खेलाडी भएर दिनुपर्ने योगदान दिन नसकेपछि बिदा लिनुपर्छ भन्ने महशुस भएकाले सन्यास लिएको उनले बताए। सन्यास लिने यो नै सही समय रहेको पनि ज्ञानेन्द्रको बुझाइ छ।

जिम्बावेमा भएको विश्वकप छनोटमा पनि उनले दुई खेल मात्र खेल्ने अवसर पाएका थिए। विश्वकप छनोटको प्लेअफका खेलमा उनले आयरल्याण्डबिरुद्ध ७ रन तथा युएईबिरुद्ध १३ रन बनाएका थिए। यो प्रदर्शनबाट उनी आफै पनि सन्तुष्ट थिएनन्।  त्यसैले पनि सन्यासबारे आफूले धेरै अगाडिदेखि नै सोचेको उनले बताए। तर उचित समयको पखाईमा रहेको र त्यो समय अहिले रहेको उनको बुझाइ छ।

नेपालले एकदिवसीय मान्यता पाएपछि ज्ञानेन्द्रले ३५ खेलबाट ८५६ रन बनाएका छन्। ४५ वटा ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा उनले ८८३ रन जोडे्का छन्। ७५ वटा लिस्ट ‘ए’ खेलमा उनले १ हजार ८०२ रन जोडे्का छन्। सन् २०१८ मा ज्ञानेन्द्रले एकदिवसीय अन्तर्राष्ट्रियमा नेदरल्याण्ड्सबिरुद्धको खेलबाट डेब्यु गरेका थिए। सन् २०१९ मा मलेसियाबिरुद्धको खेलमा नेपालका नियमित कप्तान पारस खड्काले चोटका कारण खेल गुमाउँदा मल्लले नेपाली टोलीको कप्तानको जिम्मेवारी सम्हालेका थिए।

क्रिकेटका पछिल्लो पुस्तासँग पनि उतिकै मिजासिला ज्ञानेन्द्रले तीन वर्षभन्दा बढी समय युवा कप्तानको नेतृत्वमा रहेर खेले। यद्यपि, ढल्कँदो उमेर र खस्कँदो प्रदर्शनसँगै उनले १८ वर्षे करियरको अन्त्य पनि गरे। आफू क्रिकेटमै हुर्किएकाले क्रिकेटबाट भने टाढा नजाने ज्ञानेन्द्रले बताए।

सन्यास घोषणा गर्ने क्रममा उनले नेपाली खेलाडीमा क्षमता रहेकाले नेपालको भविष्य पनि राम्रो रहेको उल्लेख गरे। त्यसको लागि राम्रो एक्सपोजर आवश्यक रहेको र जुन पछिल्ला समय खेलाडीले पाइरहेको उनको भनाइ छ।