☰ open Loading... 16 September 2024|  

१२२ स्थानीय तह अझैं प्रमुख प्रशासकीय अधिकृतविहीन
  | २५ श्रावण २०८०, बिहीबार ०५:००

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय तहमा निमित्तको राज निमिट्यान्न पार्ने उद्घोष गर्दै आएका छन् । मन्त्री बनेदेखि नै प्रशासनतर्फका सहसचिव,उपसचिव, शाखा अधिकृतहरूलाई हाजिर हुन नदिने, अहेव, जेटिए, कृषि प्राविधिकलाई निमित्त राखेर खेलो फड्को चलाउने प्रवृत्ति रोक्ने बताउँदै आएका भए पनि मन्त्री बनेको ६ महिनासम्म पनि स्थानीय तहमा निमित्त हटाएर प्रमुख प्रशासकीय अधिकृत खटाउन सकेका छैनन् ।

सामान्यले महानगरपालिका र उपमहानगरपालिकामा सहसचिव तहका, नगरपालिका र जिल्ला समन्वय समितिमा उपसचिव तहका कर्मचारीलाई र गाउँपालिकामा शाखा अधिकृतलाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटनपटन गर्दै आएको छ । तर अझैं १२२ स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ ।

मोदीले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा २५० पालिका निमित्त प्रमुखबाट चलाइएकोमा झण्डै एक सय पालिका प्रमुख प्रशासकीय अधिकृत खटाउन सफल भएका छन् । मोदीले साउन १ बाट सुशासनका कायम गर्न निमित्तवाद निमिट्यान्न पार्ने उद्घोष गरे पनि सफल हुन सकेका छैनन् । मोदीले जिम्मेवारी सम्हाले यता १ सय २८ स्थानीय तहमा प्रशासकीय प्रमुखहरु पठाइएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
हालैमात्र उपसचिव र अधिकृतहरुलाई मधेशमा खटाएर त्यहाँ निमित् निमिट्यान्न पारेका मन्त्री मोदीले अझैं देशभरका ११ उपमहानगरपालिकामध्ये धरान, हेटौंडा, तुलसीपुर र धनगढीमा मात्रै प्रमुख प्रशासकीय अधिकृतले काम गरिरहेका छन् । बाँकी दुई तिहाइ उपमहानगरपालिकाहरु प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।

जीतपुर सिमरा, जनकपुरधाम, कलैया, बुटवल, नेपालगञ्ज, घोराही र इटहरी उपमहानगरपालिकामा निमित्तले काम चलाइरहेका छन् । तीमध्ये ६ वटामा उपसचिवले निमित्तको जिम्मेवारी पाएका छन् भने इटहरीमा शिक्षा क्षेत्रका सहसचिव निमित्त छन् ।
यस्तै २७६ नगरपालिकामध्ये ३१ नगरपालिकामा अझै पनि निमित्तको भरमा, ४६० गाउँपालिका ८४ गाउँपालिका निमित्तको भरमा चलेका छन् ।