☰ open Loading... 19 September 2024|  

उर्दीपूर्ण सूचना फिर्ता लिन सप्तरीका सीडीओलाई पत्रकार महासंघको अल्टिमेटम
  | २५ श्रावण २०८०, बिहीबार ०५:२१

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सप्तरीले कार्यालयको फोटो तथा भिडियो खिच्न र पत्रपत्रिका तथा अनलाइनमा प्रकाशन गर्न रोक लगाएकोमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघ सप्तरीका सभापति श्रवणकुमार देव र सचिव रामनारायण विश्वासले विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालयलाई उर्दीपूर्ण सूचना फिर्ता लिन अल्टिमेटम दिएका हुन् ।

बुधबार राति ८ बजेभित्र उर्दीपूर्ण सूचना फिर्ता नलिए बिहीबारदेखि चरणबद्ध आन्दोलन गर्ने महासंघले चेतावनी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी लेवन काश्यप अधिकारीले अनुमतिविना कार्यालय परिसरभित्र फोटो तथा भिडिओ खिची सामाजिक सञ्जाल, पत्रपत्रिका र अनलाइनमा राखेमा कारबाही गर्ने सूचना जारी गरेका छन् ।

सूचना बुधबार जारी गरिए पनि मिति हिजोकै राखिएको छ ‌।

सप्तरीका पत्रकार अवधेश झाले प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले आफ्नो कुर्सीमा बच्चालाई बसालेको फोटो सामाजिक सञ्जालमा राखेका थिए । सोही कारण कार्यालयभित्र अनुमतिबेगर फोटो र भिडिओ खिच्न प्रतिबन्ध लगाएको सूचनामा महासंघले आपत्ति जनाएको छ ।

नेपालको संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिए पनि त्यसका विपरीत जिल्ला प्रशासन कार्यालयको पछिल्लो सूचनालाई ‘शाहीकालीन उर्दी’को रुपमा लिएको महासंघले उल्लेख गरेको छ ।

‘प्रेस स्वतन्त्रताविरोधी कुनै पनि उर्दी हामीलाई मान्य छैन’, महासंघको विज्ञप्तिमा भनिएको छ, ‘जिल्ला प्रहरी कार्यालयभित्र पत्रकारमाथि प्रहरीद्वारा आक्रमण, जिल्ला प्रशासन कार्यालयमा पत्रकारलाई प्रवेशमा रोक लगाइनु र विभिन्न मुद्दा मिलाउने नाममा आमजनतामाथि धाकधम्कीदेखि धरपक्कडसम्मको गतिविधिले समग्र जिल्लावासीलाई प्रहरी प्रशासनबाटै असुरक्षित बनाइदिएको छ ।’