☰ open Loading... 20 September 2024|  

दुई दिनपछि खुल्यो कर्णाली राजमार्ग
  | २७ श्रावण २०८०, शनिबार ०५:३१

जुम्ला — झन्डै साढे २ वर्षदेखि बेपत्ता ट्र्याक्टर चालकले न्याय नपाएको भन्दै दुई दिनदेखि बन्द कर्णाली राजमार्ग खुलेको छ । ट्र्याक्टर चालक धन गिरी बेपत्ता भएको सम्बन्धमा जुम्ला जिल्ला अदालत र उच्च अदालतको फैसला न्यायोचित नभएको विरोधमा जुम्ला चन्दननाथ नगरपालिका–९ वयालकाटीय गाउँका स्थानीयले बिहीबार बिहान ४ बजेदेखि नै सडक बन्द गरेका थिए ।

जिल्ला सुरक्षा समितिको टोलीले पीडितसँग छलफल गरेर बन्द राजमार्ग शुक्रबारदेखि खुलाएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

‘उच्चस्तरीय छानबिन समिति गठन गर्नलाई पहल गर्ने, पीडितलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने र सर्वोच्च अदालतमार्फत चार दिनभित्र मुद्दा दोहोर्‍याई पाउँ भनेर जाने सहमति भएपछि राजमार्ग खुलेको हो,’ उनले भने ।

बिहीबार बिहानैदेखि सडक बन्द गरेकाले सुर्खेत-नेपालगन्ज छुट्ने सवारीसाधन रोकिँदा अलपत्र परेका यात्रुहरूलाई राहत भएको छ भने बिरामी बोक्ने एम्बुलेन्सदेखि स्कुल बसहरू सञ्चालन हुने भएका छन् ।

२०७७ असोज १५ गते वयालकाटीया गाउँका ट्र्याक्टर चालक गिरी गुठीचौर गाउँपालिकाको लामाखरबाट बेपत्ता भएका थिए । साढे दुई वर्षदेखि उनी बेपत्ता भएकाले खोजबिनको माग छ । गिरीका आफन्तहरुले प्रहरी कार्यालयदेखि नै नक्कली मिसिल खडा गरेर आफूहरुलाई जिल्ला र उच्च अदालतमा हराएको आरोप लगाएका छन् ।

ट्र्याक्टर चालक गिरी बेपत्ता भइसकेपछि आफन्तहरूले चार जनाविरूद्ध किटान जाहेरी दिएका थिए । उनीहरूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानका लागि २५ दिन हिरासतमा राखेको थियो । पछि अदालतले धरौटीमा छाडेको थियो । अनुसन्धानमा पक्राउ परेकाहरूले आफूहरूले २ सय मिटर लखेटेको स्वीकारेका थिए ।

२०७८ जेठ ७ गते चन्दननाथ–९ स्थित नाइकाटापुमा बेवारिसे शव भेटियो। शव कुकुरले आधा खाइसकेका थिए । उचाइ र शरीरको बनावट मिलेपछि आफन्तहरूले शव घरमा ल्याए । प्रहरीले डीएनए परीक्षण गर्नुपर्ने भन्दै अस्पताल लिएको थियो ।

अहिलेसम्म न डीएनए रिपोर्ट आयो, न त बेपत्ता भएको धन नै भेटिए । डीएनए परीक्षणको रिपोर्ट प्रहरीले प्रतिवेदनमा समावेश नगरी मुद्दा अगाडि बढाएको थियो । डीएनए परीक्षणका लागि लिएको कंकालसमेत हराएको आफन्तको दाबी छ।

डीएनए परीक्षण रिपोर्टबिनै २०७९ चैत १२ गते जिल्ला अदालतले उनीहरूको विपक्षमा फैसला गर्‍यो । उनीहरूले उच्च अदालत सुर्खेत जुम्ला इजलासमा मुद्दा दर्ता गरे । तर उच्चले पनि २०८० असार ३ गते डीएनए परीक्षणको रिपोर्ट नभएको भन्दै जिल्ला अदालतको फैसला सदर गरेको छ । डीएनए परीक्षण रिपोर्टबिनै फैसला गर्ने न्यायाधीशहरूलाई अनुसन्धानको दायरामा ल्याउन आफन्तको माग थियो ।कान्तिपुरबाट