☰ open Loading... 21 September 2024|  

यार्सा टिपेरै पन्नीले जाेडिन् गाउँमा करोडौंकाे आम्दानी
  | २८ श्रावण २०८०, आईतवार ०५:२८

जुम्लाको पातारासी गाउँपालिका-५ माथिल्लो लोर्पा गाउँकि पन्नी बुढा  विगत ८ वर्षदेखि यार्सागुम्बा टिपेर आफ्नो खर्च जुटाउने गर्छिन्। उनी वर्षका १२ महिनामध्ये एक महिना उच्च हिमाली भेगस्थित यार्सागुम्बा टिप्न जाँदा वर्षभरिलाई खर्च जुटाउछिन्।

पढाइमा सामान्य साक्षर देखिने पन्नी यार्सागुम्बाकै कारण परिवारको जोहो चलाउन सक्षम भउकी छिन्। घरमा दुई बूढाबूढी छन् । एक छोरा एक छोरी छन्। उनीहरुको आयस्रोतका रुपमा यार्सागुम्बा मात्रै हो। खेतीपाती गरेर वर्षभरि खान नपुगे पनि यार्सागुम्बाका कारण एक महिना कडा मेहनत गरे वर्षभरि खान लगाउन पुग्ने उनी सुनाउँछिन्।

जेठ महिनाको दोस्रो हप्ताबाट पाटनमा यार्सागुम्बा संकलन सुरु हुन्छ। असारको अन्तिममा घर फर्केर आउँछन्। उनले भनिन् ‘पहिलोपटक जादा ३० हजार कमाई गरि घर फर्के त्यतिबेला ६० रुपैया प्रति गोटा थियो।’ ,उनले थपिन, ‘अहिले त, दुई चार  लाख कमाई हुन्छ।’

उनका अनुसार अहिले एउटाको मुल्य ८ सयखेखि १ हजार सम्म पर्छ। यो बर्ष मात्रै एक महिना यार्सागुम्बा गरेर झण्डै चार लाख ७५ हजार कमाइ गरिन्।

‘घरमा श्रीमानले खेतीपाती गर्ने, भेडा र गोरु हेरचाह गर्थें, म पाटनमा साथीहरू संग जान्छु, धेरै महिला दिदीबहिनी पनि जान्छन् सजिलोसँग रमाइलो हुन्छ, जाँदा ७ दिन हिडेर पुगिन्छ। बाटोमा खाने पिठो, चामल, चिउरा, चाउचाउ सातु, ओढ्ने बिछ्यौने बोकेर हिड्छन् जंङ्गलमै वर्षभरिको कमाइ हुन्छ भने मजदुरी गर्न भारत किन जानुपयो, घरको खेतीपाती ६ महिना पनि खान पुग्दैन्’ पन्नीले भनिन्।

पन्नीकाे घरमा ४ भाई पछि छुट्टाछुट्टै भएपछि सम्पत्ति थोरै भयो, खान, लगाउन, बालबच्चालाई पढ्ने र लत्ताकपडा गर्न पाटन नगइकन हुदैन। पहिलोपटक यार्सागुम्बा टिपेको रुपैयाँले १०, पछिल्लो पटकको कमाई १५ वटा भेडा किनेर अहिले १ सय ९० वटा पुगेका छन्। ति भेडा हरेक बर्षको दशैमा बिक्री पनि गर्छिन्।

पन्नाले यार्सा बेचेरै दुई वर्ष अघि जुम्लाको पातारासी गाउँपालिकाको सदरमुकाम लासी बजारमा मात्रै पाँच लाखका दरले ३ वटा घडेरी जोडेकि छिन्। अहिले ती घडेरी पन्ध्र लाखसम्म मुल्य पर्छ। उनको अब सुर्खेत र नेपालगन्जमा घडेरी लिने तयारीमा छ।

पाटनका बहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन गरेरै दुवै छोराछोरी सि एम ए,पढाए। उनीहरु काठमाडौंमा बसेर लोकसेवा तयारी गर्दैछन्। उनका श्रीमान मानबहादुर बुढा अनुसार यार्सागुम्बाकै कारण पछिल्लो समय भारतमा मजदुरी गर्न जाने कोही हुँदैनन्। यार्सागुम्बाको समयमा महिला, पुरुष, स्कुले बालबालिका यार्सागुम्बा सङ्कलनमा लेकतिर जाने गर्छन् ।

यस्तै सोही गाउँकी हजारी बुढा भन्छिन्, ‘एक महिना मेहनत गर्यो भने वर्षभरि खान लगाउन पुगिहाल्छ, भारतमा मजदुरी गर्न वा बाह्यमूलक किन जानुपर्‍यो ?’

उनले आफुले पनि जुम्ला बजारमा १५ लाख बराबरको घडेरी किनेको बताइन्। अरु सबै घर खर्च देखि ऋण तिरनतारन गर्न ठिकै छ, यार्सागुम्बा खरिद गर्न व्यापारी गाउँगाउँमा व्यापारी पुग्छन्। व्यापारी आफैं घरघरमा पुगेर स्थानीयबाट यार्सागुम्बा खरिद गर्ने गर्छन्।

यार्सागुम्बा खरिद गर्न व्यापारीको प्रतिस्पर्धा नै चल्छ। बहुमूल्य जडिबुटी यार्सागुम्बा नागरिकको जीविकोपार्जन गर्ने मुख्य स्रोत हो। यार्सा टिप्न दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, कालीकोट, हुम्ला, मनाङ, मुस्ताङ, बाजुराबाट पनि संकलकहरु जान्छन्। गाउँभरिका यार्सा टिप्न जाने प्रत्येकले दुई लाख बढी आम्दानी गरेका छन्। पातारासी गाउँपालिका (५ का वडा अध्यक्ष दत्तबहादुर बुढा अनुसार माथिल्लो लोर्पा गाउँमा लगभग २ सय बढी घरधुरी छ।

व्यापार, खेतीपाती र नोकरीभन्दा महिना दिनभित्र यार्सा टिपेर लाखौं आम्दानी हुने भएकाले  यहाँका स्थानीय अन्य काम छोडेर यार्सा टिप्न पाटनहरुमा पुग्ने गर्दछन्। माथिल्लो लोर्पा गाउँमा मात्रै बर्सेनि २ करोडभन्दा बढी रकम भित्रिने गरेको अध्यक्ष बुढा बताउँछन्।

‘यार्सागुम्बा टिप्न सोचेजस्तो सजिलो कहाँ छ र? हजारी बुढा भन्छिन्, ुहिउँरपानीसँग खेल्नुपर्ने, चिसोबाट बेचेर भोक, प्यासको पर्वाह नगरी अग्लाअग्ला हिमाल र पाटनहरुमा यार्सा खोज्दै चहार्नुपर्ने हुन्छ। पाटनमा बिरामी भए मर्नुबाहेक विकल्प रहँदैन।’

यति सहेर यार्सा पाए पनि कहाँ सुख छ र पाटनमा यार्सा लुटेराहरु बन्दुकसहित पुगेका हुन्छन्। तिनीहरुबाट बेचेर यार्सा बिक्री गर्नु र पैसा बोकेर सुरक्षित साथ घर पुग्नु भनेको एउटा ठूलै युद्ध जिते जस्तै हो । राति सुत्ने बेला चुल्ठोमा झोला बाधेर यार्सा जोगाउनु पर्ने बाध्यता रहेको उनी बताउँछिन्।

पातारासी क्षेत्रको कमाउने आधार नै यार्सागुम्बा हो, हरेक वर्ष बालबालिका काखमा च्यापेर महिला,युवा विद्यालय बन्द गरेर विद्यार्थी सबै जान्छन्। मुगुका छापाखोला, टाँके, रिमाड, हङदङ खोला, च्यार्कुलेख, छुमुरु, छुङडुङ, भावर खोला, असी पाटन, नयाँ वन, टाङवाक, झोवा लेख, वाङरी रमाना, धोवार खोला, च्याङजी लगाएर दुई दर्जनभन्दा बढी पाटनहरुमा यार्सागुम्बा पाइन्छ ।प्रत्येक वर्ष यार्सा टिप्न जाँदा हिउँ पहिरामा परेर, लेक लागेर र अन्य बिमारी भएर धेरैको मृत्यु पनि भइरहेको छ। गत जेठ महिनामा पातारासी गाउँपालिका (३ तल्फी गाउँका १४ जना पाटनमा हिउँ पहिरोबाट बेपत्ता भएका थिए।