☰ open Loading... 19 September 2024|  

‘स्टिकर टाँस’ अभियानले बढायो उजुरी गर्नेको सङ्ख्या
  | ३१ श्रावण २०८०, बुधबार ०५:२१

आपराधिक गतिविधि निरुत्साहन तथा नागरिकलाई अझ नजिकबाट सेवा दिने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालयले थालेको घरघरमा स्टिकर टाँस अभियानले प्रहरीमा विगतभन्दा बढी कल मार्फत उजुरी गर्नेहरु बढेका छन्।

विगतको वर्षहरुभन्दा यो अभियान थाले यता कम्तीमा ५ देखि बढीमा ५० प्रतिशतसम्म गुनासो र खबर सहितका कलहरु (उजुरी) आउने गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको हो।

सबैभन्दा कम हुम्लामा ५ प्रतिशत र सबैभन्दा बढी जाजरकोटमा ५० प्रतिशतसम्म बढी कल प्रहरी कार्यालयमा आउने गरेका जनाइएको छ। शङ्कास्पद चिज वस्तुहरू थाहा पाएमा, देखेमा वा आफूले असुरक्षित महसुस गरेमा कर्णाली प्रदेशभर घरघरमा नजिकको प्रहरी यूनिटहरुको फोन नम्बर सहितको स्टिकर टाँस गरिएको छ। प्रहरीसँग नजिक हुन नचाहने, कतिपय प्रहरीको नम्बर नभएर धेरै घटनाहरु हुने अवस्थामा यो अभियानले प्रहरीसम्म जनताको पहुँच पुगेको छ। जसका कारण प्रहरीमा कल मार्फत गुनासा र उजुरी गर्नेहरु बढेका हुन्।

छिटो, छरितो प्रहरी सेवा प्रवाह, वास्तविक सूचना आदान प्रदान गर्न शीघ्र खबर संकलन, सम्बन्धित निकायको पहुँच र सुरक्षाको अनुभूति, नागरिक मैत्री सेवाको अपरिहार्यताका लागि स्टिकर टाँस अभियान महत्त्वपूर्ण रहेको दूर-दराजका नागरिकहरुले बताए।

कर्णाली प्रदेशका ३ लाख ७१ हजारभन्दा बढी घरहरूमा ३ महिनाभित्र प्रहरीको फोन नम्बर सहितको जानकारी रहेको स्टिकर टाँस गर्ने उद्देश्य राखिएको छ।

दूर-दराजका घरहरूमा पनि प्रहरी चौकीहरुको नम्बर सहितको पोस्टरले गाउँमा घटने घटनादेखि हरेक कुराहरु प्रहरीसमक्ष फोन गरेर राख्न सजिलो भएको दैलेखका स्थानीयवासी देवेन्द्र बस्नेतले बताए।

१ महिनाभित्र १ लाख २२ हजार १ सय ५७ घरधुरीमा स्टिकर टाँस गरिसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सुर्खेतका प्रवक्ता (एसएसपी) गोपाल चन्द्र भट्टराईले बताए।

३ जनाको समूह बनाएर प्रदेशभर ३ हजार भन्दा बढी प्रहरी आफ्नो कार्यक्षेत्रमा रहेका घरधुरीहरूसम्म पुग्नेछन्। उनीहरुले घर परिवारसँग सुरक्षाबारे संवाद समेत गरी पारिवारिक विवरण समेत संकलन गर्नेछन्।

घरघरमा स्टिकर टाँस अभियान चलिरहेका बेला सुर्खेतमा १५ प्रतिशत, दैलेखमा २५ प्रतिशत, जाजरकोटमा ५० प्रतिशत, रुकुम (पश्चिम) मा ४५ प्रतिशत, सल्यानमा २५ प्रतिशत, हुम्लामा ५ प्रतिशत, डोल्पामा ४५ प्रतिशत, कालिकोटमा २५ प्रतिशत, जुम्लामा २० प्रतिशत र मुगुमा १० प्रतिशत विगतभन्दा बढी उजुरी, सूचना आदानप्रदान लगायतका विषयमा कलहरु आउने गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।