☰ open Loading... 19 September 2024|  

एमाले महासचिव शंकर पोखरेलको टिप्पणी : अब त अति भयो, इनफ इज इनफ
  | ५ भाद्र २०८०, मंगलवार ०५:१०

काठमाडौं। नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले सत्ता गठबन्धनले संविधान र लोकतन्त्रको हुर्मत लिएको आरोप लगाएका छन् । उनले सत्ता गठबन्धनको व्यवहारको कारण अब अति भयो भन्नुपर्ने भएको टिप्पणी गरेका छन् ।

उनले संविधानले सभामुखको भूमिका तटस्थ र निश्पक्ष हुने मान्यता आत्मसात् गरेको उल्लेख गरेका छन् । तर, कोशी प्रदेशमा गठबन्धनले सरकार गठनका लागि सभामुखको हस्ताक्षर प्रयोग गरेको उनले स्मरण गराएका छन् ।

पोखरेलले सामाजिक सञ्जाल फेशबुकमार्फत लेखेका छन्-

संविधान रक्षाको दावी गर्ने गठवन्धनले लोकतन्त्र र संविधानको हुर्मत लिएको देख्दा भन्नै पर्ने भो– अव त अति भयो ।
संविधानले सभामुखको भूमिका तटस्थ र निस्पक्ष हुने मान्यता आत्मसात गरेको छ । तर कोशी प्रदेशमा गठवन्धनले सरकार गठनका लागि सभामुखको हस्ताक्षर प्रयोग गर्यो । अदालतले सरकार गठनमा सभामुखको भूमिकालाई असम्वैधानिक करार गरेपछि सभामुखलाई नै राजिनामा गराएर सभामुख विहिनताको स्थितिमा सरकार गठनको दावी प्रस्तुत गरियो । जवकी सरकार गठनको प्रकृया अघि बढाउनुपूर्व प्रदेशसभाको नेतृत्व चयनको प्रकृया अघि बढाउनु पर्दथ्यो ।

गठवन्धनले सर्वोच्च अदालतको निर्णय पछि तात्कालिक काम चलाउ सरकारलाई मान्यता दिएर सम्विधानतः नयाँ सरकार गठनको प्रकृया अघि बढाउनु पर्दथ्यो । तर त्यसो नगरी सत्ता गठवन्धनले कोशी प्रदेशमा सरकार विहिनताको अवस्था सिर्जना गर्यो। जबकी नेपालको संविधानले कुनै पनि तहमा सरकार विहिनताको कल्पना नै गरेको छैन ।

विश्वासको मत लिने सन्दर्भमा समेत सत्ता गठवन्धनले सम्विधानको हुर्मत लिने काम गरेको छ । सभामुखको आशनमा रहेको व्यक्तिले मतदानको प्रकृया सुरु गरेर अध्यक्षताको आशन परिवर्तन गर्ने र मत सच्याउने समयमा मतदान गर्ने काम गरेर संविधानको ठाडो उलंघन गरेका छन् । जवकी संविधानले बराबरी मत भएको अवस्थामा मात्र सभामुखलाई मतदानको अधिकार दिएको छ ।

यसरी पटक पटक सम्विधानको हुर्मत लिने सत्ता गठवन्धनले संविधान रक्षाको दावीगर्नु ’सौ चुहे खाकर बिल्ली चली हजको’ भने जस्तै हो। त्यसैले सबैले एकस्वरमा भनौ–’इनफ इज इनफ’।