☰ open Loading... 20 September 2024|  

सभाध्यक्षको भोटबाट मुख्यमन्त्रीले लिएको विश्वासको मत असंवैधानिक : शेखर कोइराला
  | ६ भाद्र २०८०, बुधबार ०५:३२

काठमाडौँ। प्रतिनिधि सभा सदस्य तथा काँग्रेस नेता शेखर कोइरालाले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको भोटबाट लिएको विश्वासको मत असंवैधानिक भएको बताएका छन् ।

विराटनगरमा मङ्गलवार पत्रकारसँगको कुराकानीमा कोइरालाले सभाध्यक्ष पनि सभामुख नै भएको र उसको भोटले विश्वासको मत सिद्ध गर्ने कार्य संविधानविपरीत भएको तर त्यसको व्याख्या पुनः सर्वोच्च अदालतले नै गर्नुपर्ने बताएका हुन् ।

‘सर्वोच्चले जे निर्णय गर्छ त्यसलाई स्विकार्नुपर्छ,’ उनले भने, ‘सत्ता गठबन्धनका शीर्ष नेताहरुले निर्णय गरेर यसरी विश्वासको मत लिनु भनेर पठाइदियो त्यो नै लोकतान्त्रिक पद्धति भएन ।’

सत्ता गठबन्धन पटक पटक संविधान मिच्ने र प्रमुख प्रतिपक्षी अदालतमा गएर न्याय खोजिरहनु पर्ने ? भन्ने सञ्चारकर्मीको प्रश्नमा कोइरालाले भने, ‘जब राज्यसत्ता कमजोर हुन्छ त्यो बेला अदालत सक्रिय हुन्छ र त्यसलाई जुडिसीयल एक्टिभिजम भन्नु गलत हो ।’ यसअघि सभामुखको हस्ताक्षरले विश्वासको मतका लागि बहुमत पुर्‍याएको रिटमा सर्वोच्च अदालतले गरेको फैसला सही थियो तर फेरि त्यही गल्ती दोहोर्‍याइएकोले पुनः अदालतको निर्णयको प्रतीक्षा गर्नुको विकल्प नभएको उनले बताए ।