☰ open Loading... 20 September 2024|  

कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मतविरुद्ध एमाले सर्वोच्चमा
  | ७ भाद्र २०८०, बिहीबार ०५:२५

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधान मिचेर विश्वासको मत लिएको भन्दै नेकपा एमाले पुनः सर्वोच्च अदालत पुगेको छ ।

कोशी प्रदेशसभामा मुख्यमन्त्री थापाले विश्वासको मत लिने क्रममा प्रदेश सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले पनि थापाको पक्षमा मतदान गरेको र त्यसले संविधान र सर्वोच्च अदालतको आदेशको उल्लंघन गरेको भन्दै बाध्य भएर सर्वोच्च आउनुपरेको कोशी प्रदेश नेकपा एमालेका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताए ।

उनले मत बराबर पनि नभएको अवस्था र मत विभाजनको समयपनि सकेर मत सच्चाउने क्रममा मतदान गरि पुनः सभाध्यक्षको कुर्सीमा फर्कनु संविधानको धारा १८६ र प्रदेशसभा नियमावली विपरितको कार्य भएको जिकिर गरे । कानून, संविधान र संसदीय मूल्यमान्यतालाई स्थापित गर्नका लागि बाध्य भएर अदालतमा न्यायका लागि आउनुपरेको उनले बताए ।

उनले गठबन्धन दलले संविधानविपरितको काम नरोकेसम्म पटक पटक अदालत आउनुपर्ने परिस्थीति उत्पन्न हुने धारणा राखे । मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत लिने क्रममा सभाको अध्यक्षता गरिरहेका मन्सुरीले मतदान गरेका थिए ।