☰ open Loading... 28 November 2024|  

बिक्री नहुने डरले काँचै स्याउ बेच्न बाध्य छन् डोल्पाका कृषक
  | ११ भाद्र २०८०, सोमबार ०५:२१

जाजरकोट। उत्कृष्ट स्याउ पाइने डोल्पाको ठूलीभेरी, त्रिपुरासुन्दरी नगरपालिकाको विभिन्न ठाउँमा स्याउ खरिद गर्नका लागि व्यापारी बोटमै पुगेका छन्। गाउँगाउँमा रहेका खेतबारीमा लटरम्म स्याउ फलेका स्याउले ठूलीभेरी, त्रिपुरासुन्दरीका गाउँबस्ती रङ्गिएका हुन्।

त्रिपुरासुन्दरी नगरपालिका-३ स्थित सुँ, जिउँ, वडा नम्बर ४ को रंगमा कृषकले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन्। त्यस्तै वडा नम्बर ७ मा पर्ने जुफाल, ८ र ९ मा पर्ने डाँगीबाडा वडा नम्बर ४, ५ र ११ मा पर्ने लोचा, थाला, तिप्ला र रह गाउँमा प्रसस्त स्याउ उत्पादन हुने गरेको छ।

स्याउ बोटमा राम्रोसँग नपाक्दै ५० प्रतिशत स्याउ बिक्री गरिसकेको कृषि विकास कार्यालय डोल्पाले जनाएको छ। बजारको अभावमा प्रत्येक वर्ष कृषकले उत्पादन गरे जतिको सबै स्याउ बिक्री नहुने भएकाले काँचै स्याउ विचौलिया व्यापारीलाई प्रतिकिलो रु २० देखि ३० बेच्न बाध्य भएको कार्यालयको भनाइ छ।

जिल्लामा स्याउको राजधानीको रूपमा परिचित रङ्ग गाउँमा ‘एक घर, एक स्याउ बगैँचा’ छ। प्रत्येक वर्ष एउटै घरमा न्यूनतम दश क्विन्टलसम्म स्याउ फल्ने गरे पनि व्यापारीले सबै खरिद नगर्ने कृषकको गुनासो छ।

स्याउ बगानमा तीन वर्षयतादेखि नेपालगञ्ज, सुर्खेत, जाजरकोट, रुकुमलगायत जिल्लाबाट स्याउ किन्न व्यापारी घरमै पुग्ने गरेका छन्। नपाक्दै बोटमै विचौलिया आइपुग्ने रङ्गका कृषक तारा बुढाले बताए। बजार अभाव, सडकको असुविधा, ढुवानी समस्यालगायत समस्याका कारण नपाक्दै सस्तो मूल्यमा व्यापारीलाई जिम्मा लगाउन बाध्य हुने स्थानीय स्याउ कृषक हरि बुढाले बताए।