☰ open Loading... 19 September 2024|  

उप–मेयरले शिक्षा प्रमुखलाई कुटपिट गरेको भन्दै कर्मचारीले गरे तालाबन्दी, कामकाज ठप्प
  | ११ भाद्र २०८०, सोमबार ०८:५९

रुकुम (पश्चिम) को मुसिकोट नगरपालिकामा शनिवार दिउँसो प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै शिक्षा शाखा प्रमुख नरेन्द्र ओलीलाई उप–मेयर विमल कुमार पुनले कुटपिट गरेको विरोधमा आइतबार कर्मचारीले नगरपालिकाको गेटमै ताला लगाएर कामकाज रोकेका छन्।

शिक्षक पदपुर्तीको परीक्षाको विषयलाई लिएर उपमेयर पुनले शिक्षा शाखा प्रमुख ओलीलाई कुटपिट गरेको विरोधमा कर्मचारीहरुले आइतबारदेखि अनिश्चितकालका लागि काम रोकेका हुन्।

मुसिकोट नगरपालिका –१ खंलगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको उच्च माध्यमिक तहको लेखा विषयको शिक्षक पदपुर्तीको परीक्षा लिनको लागि तयारी भईरहदाँ उपमेयर विमल कुमार पुनले  नगरपालिकाका शिक्षा अधिकृत नरेन्द्र ओलीलाई हातपात तथा दुर्व्यवहार गरेको भन्दै नगरपालिकामा कार्यरत कर्मचारीहरुले शान्तिपूर्ण विरोध कार्यक्रम अन्तर्गत नगरपालिकामा तालाबन्दी गरेका हुन्।

कर्मचारीहरुले मूल गेटमै ताला लगाएर धर्ना दिदैं नगरपालिकाको सेवा प्रवाह ठप्प पारेपछि कार्यालयको कामहरु रोकिएको हो। कर्मचारीमाथि हातपात तथा दुर्व्यवहार भएको भन्दै कर्मचारीहरुले उक्त घटनाको विरोधस्वरुप कार्यालयको सेवा ठप्प रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले बताए।

यस्तै कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृतले कर्मचारीहरुको बैठक बसाल्नुपर्ने, दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने, कर्मचारीहरुलाई भरपर्दो शान्ति सुरक्षाको वातावरण मिलाउनुपर्ने, नगरपालिकामा कार्यरत कर्मचारीको गल्ती भए कानुन बमोजिम कारबाही गर्नुपर्ने, उच्च स्तरीय छानबिन समिति बनाउनुपर्ने, जनप्रतिनिधि आफै नियमावली, कानुन बनाउने कार्यान्वयन गर्ने बेला कर्मचारीलाई दोषी देखाई आफू पन्छिन खोज्ने कार्यको अन्त्य हुनुपर्ने, जनप्रतिनिधि र कर्मचारीहरुको भूमिका र काम स्पष्ट तोकिएकाले एक अर्कोबिच हस्तक्षेप भूमिका गर्न नपाइने लगायतका मागहरु राखेर कर्मचारीहरुले कामकाज ठप्प पारेका हुन्।

कर्मचारीहरुको मागहरु निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले नगर प्रमुख महेन्द्र केसीलाई बुझाइएका थिए। उता उपमेयर पुनले आफूले कर्मचारीलाई हातपात नगरेको प्रतिक्रिया दिएका छन्।

आफ्नै कार्यकक्षमा पत्रकारसँग उपमेयर पुनले आफूले अनियमित (सेटिङ) तरिकाले हुन लागेको विद्यालयको कर्मचारी भर्ना गर्न खोज्ने प्रक्रिया रोक्न माग गरेको प्रतिक्रिया दिए।