☰ open Loading... 19 September 2024|  

एमाले कर्णाली प्रदेश अधिवेशन : को-को छन् अध्यक्षका दावेदार ?
  | ११ भाद्र २०८०, सोमबार ०९:५९

सुर्खेत । नेकपा एमालेको प्रदेश अधिवेशन यहीं असोज १० र ११ गते वीरेन्द्रनगरमा हुँदैछ । पहिलो पटक हुन लागेको प्रदेश अधिवेशनले निर्वाचनमार्फत प्रदेश नेतृत्व चुन्नेछ । कार्यकारी भूमिका हुने हुँदा प्रदेश नेतृत्वका लागि पार्टीका पोलिटव्युरो तहका नेताहरुले पनि आकांक्षा देखाएका छन् ।

प्रदेश अध्यक्षलाई पोलिटव्युरो बैठकमा भाग लिने व्यवस्था गरेपछि त्यो तहका नेताहरु प्रदेशको कार्यकारी भूमिकामा आउने चाहना देखाएका हुन् । कर्णालीबाट एमालेका गुलाबजंग शाह, लक्ष्मी पोखरेल, मोहन बानियाँ र भैरवसुन्दर श्रेष्ठ पोलिटव्युरो सदस्य छन् ।

यी नेताहरुमध्ये शाह र पोखरेललाई प्रदेश नेतृत्वका प्रबल दाबेदार मानिएको नेताहरु बताउँछन् । दावेदारमध्ये श्रेष्ठ राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक हुन् ।

त्यस्तै केन्द्रीय सदस्यहरुले पनि प्रदेश अध्यक्षमा नेतृत्वसामु आकांक्षा व्यक्त गरेका छन् । स्रोतका अनुसार केन्द्रीय सदस्य मीनबहादुर शाही, विष्णु रिजाल, निरज आचार्य, राजबहादुर बुढा, नगिन्द्र शाहीले पनि प्रदेश अध्यक्षमा आआफ्नो दाबी प्रस्तुत गरेका छन् ।

सुर्खेतका पूर्वअध्यक्ष ध्रुवकुमार शाही, दैलेखका अध्यक्ष रवीन्द्रराज शर्मा पनि नेतृत्वको सिग्नल खोजिरहेका छन् । कर्णाली प्रदेशसभाका पूर्वसभामुख राजबहादुर शाहीले पनि अध्यक्ष पदमा लड्ने चाहना राखेका छन् । हाल प्रदेश अध्यक्ष रहेका विनोदकुमार शाह प्रदेश सांसद भएकाले पार्टी केन्द्रले जारी गरेको अपानिका कारण उनी दोहोरिन पाउने छैनन् ।

प्रदेश सचिव रहेका प्रदेश सांसद टेकराज पछाईले पनि कार्यकारी भूमिका पाउने छैनन् । पार्टी केन्द्रले जनप्रतिनिधिलाई कमिटीको मुख्य कार्यकारी भूमिकामा आउन नपाउने निर्णय गरेको छ ।

प्रदेश अधिवेशन नजिकिएसँगै सुर्खेतस्थित पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुको चहलपहलसमेत बढेको छ । तर, प्रतिनिधि छनोटको मापदण्ड तयार गर्न बाँकी रहेको छ ।

प्रदेश कमिटी सचिव पछाई कर्णालीमा ४९ हजारभन्दा माथि पार्टी सदस्य रहेकाले अधिवेशनका लागि ५०० भन्दा बढी प्रतिनिधि छनोट हुने बताउँछन् ।

उनका अनुसार पार्टी सदस्यता नवीकरणको काम सम्पन्न भइसकेको छ । सोहीअनुसार प्रतिनिधि छानिने उनको भनाइ छ ।नेपाल प्रेसबाट