☰ open Loading... 19 September 2024|  

कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्छ : विप्लव
  | १२ भाद्र २०८०, मंगलवार ०५:५६

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रगतिशील र कम्युनिस्टहरू एकै ठाउँमा आउनैपर्ने बताएका छन् ।

सोमबार काठमाडौँमा नेकपाले आयोजना गरेको कार्यक्रममा पार्टीका महासचिव चन्दले परिस्थितिले पनि प्रगतिशील, कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्ने बाध्यता रहेको बताए । देशलाई हृदयदेखि माया गर्नेहरू एक हुनुपर्ने उनको भनाइ थियो । यस्तै प्रगतिशील शक्तिसँग मिले मात्रै देशको विकास हुने उनले बताएका थिए ।

‘नेपाल दुईवटा छन् । एउटा नेपालमा मालिकहरूको अगाडि नाक रगडेर बस्ने मान्छेहरू छन् । दुई कौडीको भिखको लागि देश बेच्न तयार हुने गद्धारहरु पनि छन् । लाचार मान्छेहरूको एउटा पङ्क्ति छ नेपालमा । देशप्रति गद्दारी गर्नु र आमाप्रति गद्दारी गर्नु एउटै कुरा हो । आफ्नो कुर्सी र पदको लागि आमाप्रति गद्दारी गर्ने कलंकित पात्रहरू पनि यहाँ छन् । तर, त्यो होइन । यो कार्यक्रममा नेपालमा स्वर्ग खडा गर्न चाहने मान्छेहरूको पङ्क्ति छ । हामी नेपाललाई साँच्चिकै सुन्दर र सभ्य देश बनाउन चाहन्छौँ, ’नेता चन्दले भने ।

तर, त्यसका लागि धेरै कठिन सङ्घर्ष गर्नुपर्ने भन्दै देशलाई हृदयदेखि माया गर्नेहरू एक हुनका लागि उनले आह्वान गरेका थिए । चन्दले भने, ‘देशमाथि हमला हुँदा वा हस्तक्षेप हुँदा एक हुन आवश्यक छ । यो सङ्घर्षको नयाँ मोर्चा पनि हो । परिस्थितिले नयाँ मोर्चा खडा गर्छ।

उनले एमसीसी लगायतका सम्झौतामा शीर्ष नेताहरूले राष्ट्रियतामाथि घात गरेको भन्दै त्यसविरुद्ध प्रगतिशील र कम्युनिस्टहरू एकजुट हुनुपर्ने बताएका थिए ।

‘नेपालको परिस्थितिले के भन्छ भने प्रगतिशीलहरू, कम्युनिस्टहरू एक ठाउँमा आउनैपर्छ । एमसीसी केवल आर्थिक प्रोजेक्ट होइन । संस्थाको कुरा मात्रै होइन । एमसीसी सैन्य मोर्चा हो । यो नेपालको मोर्चा मात्रै होइन अन्तर्राष्ट्रिय मोर्चाको अङ्ग पनि हो ।’