दैलेख – जिल्ला प्रशासन कार्यालय दैलेखले पहिलो चरणमा दर्ता भएका राष्ट्रिय परिचयपत्रको कार्डहरु बितरण थालेको छ । प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले नारायण नगरपालिका–१ दैलेखबजारका जेष्ठ नागरिक ८० वर्षीय दलबहादुर श्रेष्ठ र उहाँको श्रीमति ७८ वर्षीया खगी श्रेष्ठलाई हस्तान्तरण गरे।
चामुण्डाबिन्द्रासैनी नगरपालिकाका मेयर गणेशबहादुर शाही, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भूपेन्द्र थापा समेतको उपस्थितिमा दम्पतिलाई राष्ट्रिय परिचयपत्रको कार्ड दिइएको हो । २०७७ असार १ गतेदेखि २०७७ चैतसम्म राष्ट्रिय परिचयपत्रको लागि दर्ता गराइएका २३ सय ६७ वटा कार्ड प्राप्त भएका र अब स्वयम् व्यक्तिको हातमा कार्ड दिइने प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।
दर्ता गराउँदा लिएको फोटो, दुई हातका दशैं औंला छाप र आँखको रेटिना समेत पुनः रुजु गरी स्वयम् व्यक्तिका लागि ४ अंकको पिन कोड दिइने भएकोले व्यक्ति स्वयम् आएर जिल्ला प्रशासन कार्यालयबाट कार्ड दिइने कम्प्यूटर अप्रेटर रामनारायण बुढाले जानकारी दिए । दैलेखमा हालसम्म २१ हजार पाँच सय १५ को दर्ता भएको उनले बताए ।