☰ open Loading... 20 September 2024|  

श्रीमतीको मृत्युपछि सन्तान पाल्ने चिन्ता
  | २२ भाद्र २०८०, शुक्रबार ०५:२१

कालिकोट । घाँस काट्ने क्रममा भीरबाट लडेर आमाको मृत्यु भएपछि ती बालबालिकाको बिचल्ली भएको छ । नरहरिनाथ गाउँपालिका–८ निवासी दीर्घ विष्टकी श्रीमती ३४ वर्षीया धनसरा विष्टको १४ भदौमा गाउँ नजिककैको वनमा घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको थियो ।

१२ वर्षको उमेरमा आमाबाबु गुमाएका दीर्घ विष्ट आफन्तको शरणमा हुर्के, आफन्तकै पहलमा घरजमसमेत गरे । बिहान खाए बेलुका के खाऊँ ? भन्ने अवस्थाका दीर्घ रोजगारीका लागि भारत जान थाले । तर, पनि आर्थिक अवस्थामा खासै सुधार आएन । उनले आफू बस्ने घरसमेत बनाउन सकेनन् । बाबुले बनाएको पुरानै घरमा उनी बस्दै आएका छन् ।

गाउँनजिकैको वनमा घाँस काट्नेक्रममा उनकी श्रीमतीको लडेर मृत्यु भएपछि उनी जन्मघर लालु फर्किए । तीन वर्षकोे कान्छो छोरा काखमा राख्दै आँखामा आँसु टिलपिल गर्दै भने उनले भने, ‘म त दुःखमै हुर्किएँ, सुख कस्तो हुन्छ यो जुनीमा थाहा पाउन सकिनँ, मेरो सन्तानले पनि सुख कस्तो हुन्छ भोग्न नपाउने भए ।’

उनी वर्षाैंअघि बाबुले बनाएको जीर्ण घरमा बस्न थालेका छन् । घरको खरको छानामाथि त्रिपालले ढाकेको छ । वर्षाको पानीले घरभित्रै चुहिने भएकाले पालले ढाकिएको छ ।

भिरालो र पहाडैपहाडले घेरिएको कालिकोट जिल्लामा घाँस काट्ने क्रममा बर्सेनि १० देखि १५ जनाको लडेर मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ ।