मुगु । हिमाली जिल्ला मुगु केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणको कालिकोट जुम्ला ३३ केभी प्रशारण लाइनको कालिकोटको नाग्म भन्ने स्थानमा ट्रयापिङ गरी मुगुसम्म ११ केभी विद्युत् लाइन जोडिएको हो ।
कालिकोटको नाग्मदेखि मुगु जिल्ला सदरमुकाम गमगढीसम्म ८५ किलोमिटर विद्युत् लाइन तानिएको छ । प्राधिकरणले आइतबारदेखि सदरमुकामलगायत आसपासका बस्तीमा विद्युत् लाइन दिन सुरु गरेको छ । यसअघि विद्युत् प्राधिकरणले गमगाढ साना जलविद्युत् आयोजना सम्पन्न गरेर चार सय किलोवाट विद्युत् उत्पादन गरी विद्युत् सेवा दिँदै आएको थियो ।
विद्युत् प्राधिकरणका तीन हजार पाँच सय ग्राहक रहेका मुगुमा केन्द्रीय लाइन पुगेसँगै विद्युत् नपुगेका बस्ती र पालिकामा विद्युत् विस्तार गर्दै लगिने गमगाढ वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताए ।
उनले भने, “गत वर्ष असोजमा आएको बाढीले गमगाढ वितरण केन्द्रको पावर हाउसलगायत एक हजार एक सय मिटरमध्ये सात सय मिटर नहरमा क्षति पुर्याउँदा विद्युत् सेवा अवरुद्ध हुँदै आएको थियो । प्राधिकरणले ग्राहकलाई विद्युत् सेवा दिन डिजेलबाट चल्ने जेनेरेटर प्रयोग गरेको थियो । बाढीले क्षति पुर्याएको विद्युत् गृह र नहरको मर्मत गरे पनि विद्युत् सेवा नियमित हुन सकेको थिएन ।”
अब मुगु जिल्ला केन्द्रीय विद्युत् लाइनमा जोडिएकाले संरचना र लाइनमा ठूलै समस्या आएबाहेक विद्युत् आपूर्तिमा समस्या नआउने पनि गमगाढ वितरण केन्द्रका प्रमुख ऐडीले विश्वास दिलाए । मुगु पुगेको ११ केभिएको विद्युत् लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन ११ केभिएलाई ३३ केभिए सबस्टेसनमा र ११ केभिए लाइनलाई ३३ केभीमा स्तरोन्नति गर्ने कार्य भइरहेको विद्युत् प्राधिकरणले जानएको छ ।