☰ open Loading... 20 September 2024|  

जाइका प्रमुख चढेको सवारी साधनमा ढुङ्गा प्रहार
पश्चिम नेपाल   | २८ भाद्र २०८०, बिहीबार १८:३३

नेपालस्थित जापानी दूतावासले बुधबार जाइका नेपालका प्रमुख अकिमित्सु ओकुबोलाई ढुङ्गाले हानेको घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ।

दूतावासले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा अकिमित्सु ओकुबो घाइते भएको र उनको गाडीमा प्रदर्शनकारीहरूको समूहले ढुंगा प्रहार गर्दा क्षति पुगेको जनाएको छ।

गत साता नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको घटनाको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरुको समूहले टर्च र्‍याली निकालेपछि उक्त घटना भएको हो। नेविसंघ सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन हो।

गत भदौ २१ गते भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लब नेपाल परिसरबाट निस्किएका यादवमाथि आक्रमण गर्ने श्याम सापकोटालाई कारबाही गर्न माग गर्दै नेविसंघ आबद्ध यी विद्यार्थीले मशाल जुलुस निकालेका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमुद ढुङ्गेलले घटनाको पुष्टि गर्दै भने, ‘त्रिचन्द्र क्याम्पसको परिसरभित्रबाट ढुंगा प्रहार भएको थाहा पाएका छौं, घटनाको अनुसन्धान थाल्छौँ, सुरक्षाका लागि नेपाल प्रहरी प्रतिबद्ध छ।’ एसपी ढुंगेलले घटनाबारे अहिलेसम्म उजुरी नपरेको बताए।

प्रहरी स्रोतका अनुसार जाइका नेपालका प्रमुख चढेको गाडीलाई त्रिचन्द्र क्याम्पस नजिकै टर्च र्‍याली हुने भएकाले वैकल्पिक मार्गमा जान सुझाव दिइएको थियो। तर, चालकले प्रहरीको सिफारिसलाई बेवास्ता गर्दै सोही बाटोमा हिँडेको आरोप छ।

जाइका नेपालका प्रमुख चढेको गाडीमा नियोजित आक्रमण भएको हो भन्ने यकिन हुन सकेको छैन। दूतावासले भन्यो, ‘शान्तिपूर्ण प्रदर्शनमा संलग्न हुन पाउने अधिकार अभिव्यक्ति स्वतन्त्रताको अभिन्न अंग हो, लोकतन्त्रको मौलिक सिद्धान्त हो। तर, त्यस्ता प्रदर्शनहरू हिंसात्मक बन्दै गएमा त्यो फौजदारी अपराधबाहेक अरू केही होइन।’

विज्ञप्तिमा नेपालको लोकतान्त्रिक प्रगति र विकासमा जाइकाले निर्णायक भूमिका खेल्दै इमान्दार मित्रका रूपमा जापानको दीर्घकालीन समर्थनलाई जोड दिएको छ। यसले आफ्ना प्रतिनिधिलाई चोटपटक लाग्ने खेदजनक घटनाप्रति दुःख व्यक्त गरेको छ। दूतावासले नेपाल सरकारले विदेशी पर्यटन र प्रत्यक्ष विदेशी लगानी (एफडीआई) लाई सक्रियताका साथ प्रवर्द्धन गर्दै आएको र यस्ता घटनाले ती प्रयासमा बाधा पुर्‍याउने बताएको छ।

नेपालस्थित जापानी दूतावासले पनि नेपालमा बसोबास गर्ने जापानी नागरिकलाई सतर्क रहन र यस्ता घटनाबाट बच्न सचेत गराएको जनाएको छ। नेपाल विदेशीका लागि शान्त र आकर्षक गन्तव्य बन्ने आशा पनि व्यक्त गरेको छ