जुम्लाको अर्गानिक स्याउको परिकार अनेक छन्। उत्पादन हुने स्याउको विभिन्न परिकारमध्ये एक स्याउका चाना पनि हो। जो मेसिनबाट काटेर सुकाई प्याकिङ गरी बजारमा पठाइन्छ।
जुम्लामा बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकले स्याउभन्दा चानालाई बढी रुचाएको पाइन्छ। त्यसमा, विदेशीले चाना खान बढी रुचि देखाउने गरेको किसान तथा व्यापारी बताउँछन्। स्याउ सिजन सकिएपछि चानाको व्यापार फस्टाउँछ।
पछिल्लो समय जुम्लाका किसानले स्याउ बेच्ने मात्र नभई त्यसबाट बन्ने विभिन्न परिकार बनाई दोहोरो फाइदा लिँदै आएका छन्। स्याउबाट बन्ने जुस, जाम, चाना उत्पादनमा यहाँका किसान व्यस्त छन्। सरकारी तथा गैरसरकारी निकायबाट किसानले स्याउका परिकार बनाउने सीप सिकेपछि किसानहरू स्याउका चाना तथा विभिन्न प्रकारका परिकार बनाउन जुटेका हुन्।
जुम्लाको चन्दननाथ नगरपालिका -८ जातिभिडका श्री थापाले विगत ३ वर्षदेखि स्याउको चाना बनाएर बिक्री गर्दै आएको बताए। थापाले विगत ३ वर्षदेखि चाना उत्पादन व्यवसायमा लागेदेखि घरमै बसी मनग्य आम्दानी भइरहेको बताउँछन्।
उनको बगैंचामा ५ सय देखि ७ सय सम्म फल्ने स्याउका बिरुवा छन्।अघिल्लो वर्ष २ लाख ६० हजार आम्दानी गरे, अहिले ३ लाख ८० हजार कमाइ भइसकेको उनले बताए। स्याउको चाना प्रतिकेजी १ हजार १ सय रुपैयाँमा बिक्री भइरहेको छ।
थापाले जस्तै जुम्लाका ग्रामीण भेगका अन्य किसान पनि तालिम लिएर स्याउका चाना बनाएर बिक्री गर्न सुरु गरेका छन्। जुम्लाका विभिन्न ठाउँमा स्थापना गरिएका कोशेली घरले एकमुष्ट स्याउको चाना लिने गरेको स्थानीय पन्नकली थापा बताउँछिन्।
स्याउ निर्यात गरिसकेपछि व्यापारीले लिन नमानेका स्याउलाई सफा गरी चाना बनाउने गरिन्छ। बाहिरको बोक्रा फाल्ने, मेसिनबाट काटेर सुकाएर छापसहित प्याकिङ गरिन्छ। त्यसपछि स्याउको चना बजार पठाइन्छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाले लामो समयदेखि स्याउका चाना, जाम, जेलीलगायतका विभिन्न परिकार उत्पादन गर्न किसानलाई तालिम दिँदै आइरहेको छ।
-नागरिकन्यूजबाट