☰ open Loading... 20 September 2024|  

मुटुको चालमा गडबडीको कारण के हो, कसरी गर्ने उपचार?
डा. अनिल भट्टराई   | २८ भाद्र २०८०, बिहीबार २०:५०

मुटु धड्किने एउटा प्रक्रिया हुन्छ। वयस्क मान्छेको निरोगी मुटु एक पटकमा प्रतिमिनेट ६० देखि ९० पटक धड्किन्छ। यसलाई सामान्य मानिन्छ। यो प्रक्रियामा कमी भयो अथवा बढी भयो भने त्यो गडबडी हो। त्योसँगै मुटु एउटै गतिमा चल्नुपर्छ। यसमा गडबडी आयो भने पनि मुटुको चालमा आएको गडबडी मानिन्छ।

मुटुको चालमा गडबडी आउने विभिन्न कारण हुन्छन्। मुटु एउटा विशिष्ठ खालको अंग हो। यसको आफ्नै ब्याट्री हुन्छ भने आफ्नै तार हुन्छ। त्यो ब्याट्रीले करेन्ट निकाल्छ र करेन्ट तारमा फैलिएर ढुकढुक हुने हो। यही प्रक्रियामा तलमाथि भयो भने मुटुको चालमा गडबडी हुने हो। अर्थात् मुटुभित्र करेन्ट फैलिने प्रक्रियामा कुनै गडबडी आयो भने त्यसलाई मुटुको चालमा आएको गडबडी भनिन्छ।

यस्तो गडबडी हुने एउटा कारण जन्मजात हो। जसले गर्दा मुटुको ब्याट्रीमा अथवा तारमा कमजोरी देखिन सक्छ। बच्चा जन्मिँदैमा मुटुको चाल प्रतिमिनेट १४० हुनुपर्ने तर ६०\७० मात्र भयो भने त्यसलाई ‘हार्ट ब्लक’ भनिन्छ। त्यस्तो अवस्थामा जन्मेको केही बेरमै ‘पेसमेकर’ राख्नुपर्ने हुन सक्छ।

अरू कारण पनि छन्। मुटुको भल्ब खराब हुँदै गयो भने मुटुको चालमा गडबडी आउँछ। मुटुको रगतका नशाहरू ब्लक भयो भने समेत मुटुको चालमा गडबडी आउँछ। त्यस्तो बेलामा समेत पेसमेकर राख्नु पर्छ। कहिलेकाहीँ सामान्य खालको हृदयघात भएको अवस्थामा समेत मुटुको चालको गडबडी हुन्छ। अर्को वंशाणुगत कारण हो। जसले मुटुको मांसपेशीलाई बाक्लो बनाउँछ। यस्तो स्थितिमा मुटुको चाल बिग्रिन्छ। जन्मजात बच्चा युवा तन्नेरी, वृद्ध सबै खाले उमेर समूहलाई यस्तो समस्या हुन्छ।

काम गरेको बेलामा मुटुको चाल बढ्ने र बसेको बेलामा मुटुको चाल कम हुनु सामान्य हो। कहिलेकाहीँ मानसिक समस्याले समेत मुटुको चालमा गडबडी आउँछ।मानसिक समस्याले गर्दा स्ट्रेस हर्मन उत्पादन हुन्छ। यसले गर्दा समेत मुटु धेरै धड्किने हुन्छ।

जन्मजात मुटुको चाल बिग्रिएको छ भने पेसमेकर राख्ने नै हो। अन्य उमेर समूहका बिरामीलाई कतिपय अवस्थामा यसको उपचार औषधीबाट हुन्छ भने कतिपय अवस्थामा पेसमेकर राखिन्छ।

पेसमेकरमा एउटा तार हुन्छ। त्यो तारलाई मुटुसम्म पुर्याउनु पर्छ। त्यो मुटुसम्म पुर्याएको तारलाई बाहिर छालामुनि राखिएको सानो ब्याट्रीसँग जोडिन्छ। पेसमेकरले करेन्ट निकाल्छ। अहिलेको पेसमेकरले आवश्यकताका आधारमा मात्रै काम गर्छ। जस्तो मुटुको चाल ४० छ भने पेसमेकरले २० मात्रै दिन्छ।

मुटुको चालको गडबडीबाट जोगिनका लागि मुटुका रोगहरू छन् भने त्यसलाई उपचार गर्नुपर्छ। मुटुको चालमा एक्कासि गडबडी आउने सम्भावना धेरै कम हुन्छ।यसको साथै खानपिन र जीवनशैलीमा समेत भर पर्छ।

(सहप्राध्यापक एवम् वरिष्ठ मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई त्रि.वि. मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियो थोरासिक भास्कुलर सर्जरीका विभागीय प्रमुख समेत हुन्।)
-सेतोपाटीबाट