दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् ।
पुर्खौंदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि स्थानीयले संरक्षण गर्न सरकारसँग माग गरेका छन् । अहिले बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा मात्रै ‘मगर खाम भाषा’ बोल्ने गरिन्छ । त्यसबाहेक अन्य क्षेत्रमा मगर भाषा बोलेको पाइँदैन ।
भुजीखोलामा मगर भाषा बोल्न छोडेपछि परम्परागत मौलिक संस्कृति पनि हराउने जोखिम बढेको छ । ढोरपाटन नगरपालिका–९ का ८० वर्षीय भैरम बुढामगरले आफूहरुको भाषा हराउने अवस्थामा पुगेको भन्दै यसको संरक्षणमा स्थानीयर सरकारले ध्यान दिनुपर्ने बताए । बालबालिका विद्यालयमा जान थालेपछि भुजीखोला क्षेत्रमा बोलिने गर भाषा हराउँदै गएको उनको बुझाइ थियो ।
ढोरपाटन नगरपालिका–४ देखि ९ सम्म बाक्लो मगर बस्ती छ । आधुनिक प्रविधिको विकास र अरुको देखासिकीका कारण आफ्नो मौलिक भाषा हराउँदै गएको बुढामगरको भनाइ छ । उनका अनुसार यस क्षेत्रमा बोलिने मगर भाषालाई स्थानीयले ‘भुजेल भाषा’ भन्ने गर्दथे ।
ढोरपाटन नगरपालिका–६ कि खिमकुमारी बुढामगरले भाषासँगै यहाँ मगर संस्कृति पनि हराउँदै गएकामा चिन्ता व्यक्ति गरे । मगर जातिको भाषा र संस्कृति संरक्षणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो । अघिल्लो पुस्ताबाट अब नयाँ पुस्तालाई भाषा सिकाउनका लागि नगरपालिका र अन्य सरोकारवाला निकायले ध्यान दिनुपर्ने खिमकुमारीले बताए । भाषा एउटा समुदायको पहिचान भएकाले यसको संरक्षणमा सबैको पहल आवश्यक पर्नेमा उनले जोड दिए।