☰ open Loading... 18 October 2024|  

कर्णाली प्रदेश अस्पतालमा सुत्केरीको मृत्यु
पश्चिम नेपाल   | ३१ भाद्र २०८०, आईतवार १२:५७

कर्णाली प्रदेश अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ बस्दै आएकी वर्ष ३० कि जानकी रेग्मी अधिकारी रहेकी छन् । उनको शल्यक्रिया गरिसकेपछि अस्पतालमै मृत्यु उनका ससुरा तिलक अधिकारीले जानकारी दिए ।

उनकाअनुसार जानकी २९ गते अस्पतालमा भर्ना भएकी थिइन् । अस्पतालमा भर्ना पश्चात् उनले शुक्रबार नै प्रसूति वार्डमा छोरा जन्माएकी थिइन् ।तिलक भन्छन् –‘छोरा जन्मेपछि बुहारीलाई जनरल वार्डमा राखियो, त्यति बेलासम्म अवस्था सामान्य थियो । छोरालाई दूध समेत खुवाएकी थिइन्, सोही वार्डमा एक्कासि बेहोस भइन्, अनि उनलाई आइसियुमा राखियो । शनिबार उनलाई अस्पतालले एक्कासि मृत घोषणा गर्यो ।’

बच्चा जन्माएको २४ घण्टामा सुत्केरीको मृत्यु हुनु अस्पतालको लापरबाही प्रमुख कारण रहेको पीडितहरूको बुझाइ छ । बच्चा अहिले आइसीयुमै रहेको छ । प्रदेश राजधानीको सुविधा सम्पन्न अस्पतालमा आउँदा पनि सुत्केरी सुरक्षित हुन नसक्नु आफैमा विडम्बना भएको परिवारको स्रोतको भनाई छ । उनले बुहारीको के कारणले मृत्यु भएको हो भन्ने अस्पतालले अहिलेसम्म पनि जानकारी नदिएको बताए ।

उनकाअनुसार अस्पतालले आफूहरूलाई नयाँ घटना भएको र आफूहरू पनि अचम्मित भएको जवाफ दिएको छ । अहिले पीडितहरू अस्पतालमा छन् । शवको पोस्टमार्टम गर्ने तयारी भइरहेको उनले बताए । अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भने घटनाको विषयमा समीक्षा हुन लागेको बताए । यद्यपि कारणबारे भने उनले आफूलाई जानकारी नरहेको बताए । समीक्षापछि मात्र घटनाबारे थाहा हुने उनको भनाइ छ ।

-खबरदृष्टिबाट