☰ open Loading... 7 September 2024|  

१८ वर्षमा पनि सकिएन चक्रपथ निर्माण
पश्चिम नेपाल   | १ आश्विन २०८०, सोमबार १०:४८

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको चक्रपथ निर्माण सुरु भएको दुई दशक पुग्न लाग्यो। २९ किलोमिटरको चक्रपथ निर्माण कार्य पूरा हुन अझै कति समय लाग्ने हो? चक्रपथ निर्माण सुरु भएको १८ वर्षमा २४ किलोमिटर मात्रै ट्र्याक खुलेको छ। पाँच किलोमिटर ट्र्याक खुल्न बाँकी छ।

‘कतै स्थानीयको अवरोध छ, कतै वन क्षेत्र परेकाले काम गर्न सकिएन’, सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख आशुतोष कर्णले भने, ‘अवरोध हटाउन नगरपालिकासँग पटकपटक समन्वय गरेका छौं, नतिजा आएको छैन।’

चक्रपथ निर्माण कार्य पूर्णतः रोकिएको छ। प्रमुख कर्णका अनुसार वीरेन्द्रनगर नगरपालिकाले अवरोध हटाउन पहल नगरिदिएकाले काम रोकिएको हो। ‘अवरोध हटाउन पहल नभए चक्रपथको एलाइनमेन्ट नै परिवर्तन गर्नुपर्ने हुन्छ’, उनले भने, ‘हामीलाई चाँडै निर्माण दिइए सहज हुन्थ्यो।’

अघिल्लो वर्ष चक्रपथ निर्माण योजनाको सम्झौता सकिएको छ। डिभिजन सडक कार्यालय चौरजहारीले २०७४ मा चक्रपथ निर्माणको जिम्मा पाएको थियो। सडकले २०७६ चैतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो। त्यसयता दुईपटक म्याद थपिएको छ। वन क्षेत्र र बस्तीतिर काम हुन नसकेको कार्यालय प्रमुख कर्णले बताए।

वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुुख नीलकण्ठ खनालले जग्गा विवादका कारण चक्रपथ निर्माण कार्य ढिलाइ भइरहेको बताए। उनले सडक निर्माणका क्रममा देखिएका विवाद सुल्झाउने प्रयास भइरहेको जानकारी दिए। ‘स्थानीयभन्दा पनि वनका कारण चक्रपथ निर्माणले गति लिन नसकेको हो’, उनले भने, ‘हामी समन्वय गरिरहेका छौं, चाँडै विवाद सुल्झिएर निर्माण कार्य अघि बढ्छ।’