☰ open Loading... 20 September 2024|  

बालबालिकाको खाजा खोसेर शिक्षकलाई तलब
नरजन तामाङ   | २ आश्विन २०८०, मंगलवार ०७:२६

हुम्लाको सर्केगाड गाउँपालिका– १ तुम्चस्थित देवल आधारभूत विद्यालयले विद्यार्थीको दिवाखाजाको साढे पाँच लाख बजेटबाट तीन शिक्षक राखेको छ । विद्यार्थीले दिवाखाजा पाउँदैनन् ।
विद्यालयले दिवाखाजा कटाएर निजी स्रोतका शिक्षक चक्र मल्ल, रूपबहादुर शाही, दीपेन्द्र बमलाई राखेको हो । सरकारले प्रारम्भिक बाल विकासदेखि कक्षा ६ सम्मका विद्यार्थीका लागि (हुम्लासहित कर्णालीका दुर्गम पाँच जिल्लामा हरेक विद्यार्थीले २० रुपैयाँ) खाजाबापत रकम दिन्छ । सरकारले विनियोजन गरेको रकम पालिकामार्फत विद्यालयको खातामा जान्छ ।

ad
सर्केगाड गाउँपालिका शिक्षा शाखा प्रमुख वीरजंग शाहीका अनुसार देवलमा कक्षा ६ सम्मका एक सय ५० बालबालिकाको दिवाखाजाका लागि दैनिक २० रुपैयाँका दरले वार्षिक पाँच लाख ५० हजार आठ सय बजेट जान्छ । दिवाखाजा बजेट वार्षिक एक सय ८० दिन मानेर निकासा हुन्छ । विद्यालयमा १ देखि ६ कक्षासम्म एक सय १९ र बालविकास केन्द्रमा ३४ बालबालिका छन् ।

शिक्षा शाखा प्रमुख शाही बालबालिकाका लागि छुट्याइएको दिवाखाजा कटाएर शिक्षक पाल्न नपाउने बताए । तर, प्रधानाध्यापक रावतले कक्षा ८ सम्म सञ्चालन गर्न शिक्षक अभाव भएपछि निजी स्रोतमा शिक्षक राखेर चलाउन दिवाखाजाको पैसा प्रयोग गरिएको बताए । ‘अभिभावकले कक्षा ८ सम्म पढाइदिन भन्नुभयो । तर, शिक्षक दरबन्दी ३ जना मात्र छ । निजीमा शिक्षक राख्न अन्य स्रोत नभएकाले खाजाको पैसा प्रयोग गरिएको हो,’ उनले भने ।

स्कुल खुल्छ, शिक्षक गयल
२४ भदौ, आइतबार सार्वजनिक बिदा थिएन । तर, सर्केगाड गाउँपालिका–१ तुम्चमा रहेको देवल आधारभूत विद्यालयमा दिउँसो १२ बजेसम्म पढाइ नै सुरु भएन । नयाँ पत्रिकाकर्मी विद्यालय हाताभित्र पुग्दा विद्यार्थी चौरमा खेलिरहेका थिए । प्रधानाध्यापकसहित ६ जना शिक्षक रहेको यो विद्यालयमा अपराह्नसम्म शिक्षक नआएपछि कार्यालय सहयोगी केवल सुनारले पालैपालो विद्यार्थीको हाजिर गरेर घर पठाइदिए । ‘सरहरू दिउँसोसम्म आउनुभएन, हेड सरलाई फोन गरेर सोध्दा ‘हाजिर गरेर पठाइदिनू’ भन्नुभयो,’ सुनारले भने, ‘मैले पनि हाजिर गरेर पठाइदिएँ ।’

कक्षा ७ मा अध्ययनरत एक विद्यार्थीले आफू बिहान साढे ९ बजे विद्यालय पुगे पनि पढाइ नभएपछि फर्किएको बताए । ‘सरहरू आए पढाइ हुन्छ, नत्र हाजिर लगाएर घर फर्किन्छौँ,’ उनले भने ।

२४ भदौमा वर्षाको बहाना बनाएर शिक्षक उपस्थित भएका थिएनन् । तर, विद्यार्थी भने रुझ्दै विद्यालय पुगेका थिए । ‘हामी गयल भए ५० रुपैयाँ जरिवाना तिर्नुपर्छ । त्यही भएर हाजिरकै लागि भए पनि स्कुल आउँछौँ,’ कक्षा ८ का एक विद्यार्थीले भने, ‘सरहरू नआउँदा कसले जरिवाना गर्छ र ? ’

तर, प्रधानाध्यापक कालीबहादुर रावतले भने, ‘बाटो अप्ठेरो छ । दुई घन्टा हिँड्नुपर्छ । त्यो दिन पानी परेकाले म आउन नसकेको हो ।’ अरू शिक्षक विद्यालयको कामले पनि आउन नसकेको हुन सक्ने उनले बताए । तर, २४ भदौमा यहाँ बिहान एकछिन मात्र पानी परेको थियो ।

देवलमा प्रअ रावतसँगै शिक्षकहरू मदन बुढा र नन्दप्रसाद यादव स्थायी दरबन्दीका शिक्षक हुन् । नन्द एक महिनादेखि बिदामा छन् । शिक्षक चक्र मल्ल, रूपबहादुर शाही र दीपेन्द्र बम निजी स्रोतका शिक्षक हुन् ।

कक्षा ८ सम्म पढाइ हुने, दुई सय २० विद्यार्थी रहेको यो विद्यालयमा पढाइ नहुने घटना नौलो होइन । कक्षा ७ का एक छात्राका अनुसार यो विद्यालयमा वार्षिक परीक्षा दिउन्जेलसम्म कहिल्यै कोर्स सकिँदैन । ‘कहिलेकाहीँ मात्र पढाइ हुन्छ, सरहरू कहिले घरमा काम पर्‍यो, कहिले सदरमुकाम जानुपर्‍यो भनेर गयल हुनुहुन्छ,’ उनले भनिन्, ‘हामी मात्र स्कुल आएर के गर्नु ?’
-नयाँपत्रिकाबाट