☰ open Loading... 20 September 2024|  

कर्णालीका सञ्चार उद्यमी बुढा सम्मानित
पश्चिम नेपाल   | २ आश्विन २०८०, मंगलवार ०७:३६

सुर्खेतका सञ्चार उद्यमी दिपक कुमार बुढा सम्मानित भएका छन् । नेपाल राष्ट्रिय चन्द्रगंगा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समेत रहेका उनलाई विद्यालयले सम्मानित गरेको हो । विद्यालयको ५० औं बार्षिकोत्सव (स्वर्ण जयन्ती) का अवसरमा आयोजित कार्यक्रममा सम्मानित गरिएको हो ।

कर्णाली प्रदेशको चर्चित पत्रिका युगआव्हान राष्ट्रिय दैनिकका प्रकाशक तथा सम्पादक र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका सचिव समेत रहेका छन् । उनले कक्षा–६ देखि कक्षा–१० सम्म सोही विद्यालयमा अध्ययन गरेका थिए ।
विद्यालयको स्वर्ण जयन्तीका अवसरमा विद्यालयको शैक्षिक उन्नयन तथा चौतर्फी विकासमा आर्थिक सहयोग गरी अतुलनीय योगदान गरेको भन्दै सम्मानित गरिएको थियो ।

विद्यालय प्रधानाध्यापक नेत्रप्रसाद चालिसेले विद्यालयबाट विभिन्न समयमा उत्तिर्ण भएर विभिन्न पेशा, व्यवसायमा आवद्ध पूर्व विद्यार्थीहरुबाट विद्यालयका लागि महत्वपूर्ण सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका थिए ।

सम्मानित हुने पूर्व विद्यार्थी तथा सञ्चार उद्यमी बुढाले विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित उपत्यका व्यापी कविता, तीज गित र भलिबल प्रतियोगिताका विजयीहरुका लागि नगद पुरस्कार र ट्रफिका लागि नगद ३२ हजार ५ सय सहयोग रकम उपलब्ध गराएका थिए ।

सोही अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरिभक्त कोइराला, विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद चालिसे, शिक्षकहरु कृष्णकुमारी आचार्य, मिना चौधरी, गणेशप्रसाद कोइराला, डम्मरकुमारी सापकोटालाई नगदसहित सम्मानित गरिएको थियो ।

स्वर्ण जयन्तीका अवसरमा आयोजित उपत्यका व्यापी कविता प्रतियोगितामा प्रथम हुने एसओएस हर्मन माइनरका गितिज अधिकारी, द्धितीय हुने सैनिक महाविद्यालयका मुना थापा मगर, तृतीय हुने श्रीकृष्ण संस्कृत माविका पवन शर्मा, सान्त्वना हुने पुस्कर चपाईगाईलाई क्रमश, तीन हजार, दुई हजार, पन्ध्र सय र एक हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यसैगरी वीरेन्द्रनगर–११ का टोल विकास संस्थाहरुको विचमा भएको तीजगीत प्रतियोगिताका विजयीहरुलाई नगद तथा पुरस्कार वितरण गरिएको थियो । सल्लाघारी टोल विकास संस्था प्रथम नगद पाँच हजार, गाग्रेताल डाँडा टोल विकास संस्था द्धितीय नगद ४ हजार, समाज सुधार टोल विकास संस्था तृतीय नगद ३ हजार र ढोलढुङ्गा टोल विकास संस्था सान्त्वना नगद २ हजार नगद र पुरस्कार वितरण गरिएको थियो ।
त्यसैगरी उपत्यका व्यापी भलिबल प्रतियोगितातर्फ प्रथम नेरामावि डाँडास्कुल नगद १० हजार र ट्रफि, द्धितीय हुने साउथ एसियन स्कलर्सलाई नगद ७ हजार र ट्रफि, तृतीय हुने शिव मावि लाइटीकोइलीलाई नगद ५ हजार र ट्रफि पुरस्कार वितरण गरिएको थियो ।
विद्यालयको बाल विकासदेखि कक्षा–१२ सम्मका कक्षामा प्रथम, द्धितीय, तृतीय हुने उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । सोही अवसरमा विद्यालयमा स्थापित डिल्ल बहादुर सापकोटा÷मनकुमारी सापकोटा छात्रवृत्ति अक्षयकोषको व्याजबाट विद्यालयका कक्षा प्रथम हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । २०३० साल असोज १ गते स्थापित चन्द्रगंगा माध्यमिक विद्यालयले सिटिइभिटीबाट कृषितर्फ बालि विज्ञान विषय समेत सञ्चालन गर्दै आएको छ ।

सोही अवसरमा विद्यालयका प्रधानाध्यापक नेत्रप्रसाद चालिसेबाट विद्यालयको प्रगति तथा आर्थिक प्रतिवेदन पेश गरिएको थियो । विद्यालयले गत आर्थिक बर्षको ३ करोड ८८ लाख १८ हजार ८ सय ७० रुपैयाँ बराबरको आम्दानी तथा खर्च विवरण प्रस्तुत गरेका थिए ।