☰ open Loading... 21 September 2024|  

रुपन्देहीको तिलोत्तमामा झडप हुँदा एकजनाको मृत्यु, १३ जना प्रहरी नियन्त्रणमा
पश्चिम नेपाल   | २ आश्विन २०८०, मंगलवार १२:२४

रुपन्देहीको तिलोत्तमामा झडप हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मकवानपुर हेटौँडाका अन्दाजी २४/२५ वर्षका सुरेश स्याङताङ रहेका छन्।

दुई समूहबीच भएको झडपमा गम्भीर घाइते भएका स्याङताङको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए ।

थापाले झडपमा परी काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङमध्यम घाइते भएका भन्दै घाइते तीनै जनाको उपचार स्थानीय अस्पतालमा भइरहेको जानकारी दिएका छन्।

थापाका अनुसार तिलोत्तमा ९ केवलानीमा घर बनाउने मजदूरहरूबीच गयराति झडप भएको हो। विश्वकर्मा पूजाको अवसरमा काम गरेर स्थानीय एक रेस्टुरेन्टमा बसिरहेका दुई समूहबीच विवाद भएपछि झडप भएको पनि थापाले बताए। उनले स्याङताङमाथि प्रयोग भएको चक्कु प्रहरीले बरामद गरेको जानकारी दिएका छन्।

थापाले हालसम्म शङ्कास्पद र घटनामा संलग्न भएको हुन सक्ने भन्दै १३ जनालाई नियन्त्रणमा लिइएको र अनुसन्धान सुरु गरिएको पनि बताए।