☰ open Loading... 21 September 2024|  

सहकारीले एक अर्ब बढी ठगेर सञ्चालक फरार
पश्चिम नेपाल   | २ आश्विन २०८०, मंगलवार १३:५०

बुटवलको सुप्रिम सहकारीले बचतकर्ताको १ अर्ब बढी रकम ठगेको भन्दै प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयमा निवेदन परेको छ।

निवेदनमा सहकारी संस्थाका संचालक र पदाधिकारीलाई नियमानुसार कारबाहीको माग गरिएको छ। सुप्रिम सहकारी संस्थाले एकै जना बचतकर्ताको साढे तीन करोड रूपैयाँसम्म ठगी गरेको उजुरी परेको कार्यालयले जनाएको छ। सहकारी संस्थाबाट बचतकर्ताको एक अर्बभन्दा बढी निक्षेप जोखिममा परेको भन्दै रकम फिर्ताको माग राख्दै सहकारी दर्ता अधिकारीको कार्यालय राप्ती उपत्यका देउखुरीमा उजुरी परेको हो।

सुप्रिम सहकारी संस्थाका दुई सयभन्दा बढी सदस्यले आफूहरूको एक अर्ब बढी बचत रकम ठगी गरेको भन्दै उजुरी दिएको लुम्बिनी प्रदेश सहकारी रजिष्ट्रार भिमप्रसाद तिवारीले जानकारी दिए।

‘एउटै सदस्यको साढे तीन करोडसम्म ठगी गरेको उजुरी परेको छ, सहकारीले एक अर्ब बढी ठगी गरेको भन्दै दुई सयभन्दा बढी व्यक्तिले उजुरी दिनुभएको छ,’ तिवारीले भने।

बचतकर्ताको रकम जोखिममा परेपछि प्रदेशका अधिकांश सहकारी संस्थामा आफैं पुगेर सुधार गर्न निर्देशन दिएपनि सहकारी संस्थाका संचालक र व्यवस्थापकहरूले बेवास्ता गरेपछि झनै समस्यामा परेको तिवारीले बताए।

‘गत वर्षदेखि नै सहकारीहरू संकटमा पर्न थालेको थाहा पाएपछि धेरैजसोको कार्यालयमा म आफैं पुगेर सुधार गर्न निर्देशन दिएको छु तर सञ्चालक र व्यवस्थापकहरू सम्पर्कमा आएर सुधार गर्नुको सट्टा भाग्ने काम गर्नुभयो,’ उनी भन्छन्।

बचतकर्ताले रकम झिक्न नपाएपछि सुप्रिमसँगै बुटवलका अन्य केही सहकारीहरू संकटमा परेको गत वर्षको असारदेखि नै गाईंगुईं चल्न थालेको थियो।

बुटवलमा सहकारी स्थापना गरेर काठमाडौंमा कारोबार गर्ने मिटरब्याजीहरूलाई लगानी गर्दै आएका सहकारीहरू संकटग्रस्त हुँदै गएका थिए। सरकारले मिटरब्याजीलाई कारबाही गर्न थालेपछि समस्याग्रस्त देखिन थालेका थिए।

बचतकर्ताको रकम फिर्ता गर्न नसकेको र कार्यालय बन्द गर्ने अवस्थामा पुगेको सूचना पाए लगत्तै जिल्ला सहकारी संघ, जिल्ला बचत तथा ऋण सहकारी संघ र राष्ट्रिय सहकारी बैंकले समन्वय गरी ऋण सहयोग गरेर सुप्रिम लगायतका सहकारीलाई प्राणदान दिएको थियो।

त्यसपछि सुप्रिमले ५ लाख जम्मा गरेका बचतकर्तालाई ५ हजार रुपैयाँ दिएर थामथुम पारेको थियो। तर उसले आफूलाई सुधार्नेतर्फ भने प्रयत्नै गरेन।

कार्यालय बुटवलमा रहेपनि सुप्रिम सहकारीका अधिकांश लगानीकर्ता बुटवल बाहिरका थिए। सहकारीका संस्थापक अध्यक्ष डिबी राई हुन्। हर्वो नेचर नामक नेटवर्किङ शैलीको व्यवसायका सञ्चालक राई अहिले संरक्षक छन्। सहकारीका सचिव पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुन हुन्।

प्रदेश सहकारी रजिष्ट्रार तिवारीका अनुसार पछिल्लो एक वर्ष यता लुम्बिनी प्रदेशका एक दर्जन बढी सहकारीविरूद्ध बचतकर्ताले ताला लगाउने र प्रदेश सहकारी रजिष्ट्रार कार्यालयमा उजुरी दिने गरेका छन्।

संकटग्रस्त देखिएका धेरै जसो रूपन्देहीका सहकारी छन्। सुप्रिमसँगै शाईन, सुनौलो, सार्थक, आयाम, आगन्तुक, उपदेश, उपकार, जनप्रिय, सुसन्देश, शुभश्री लगायतका सहकारी ऐन विपरित मर्ज हुन खोजेपछि संघले बचतकर्ताहरूको समस्या सम्बोधन गरेर मात्र मर्ज हुन निर्देशन दिएको थियो।

गएको मंसिर यता बुटवलमा केन्द्रीय कार्यालय रहेका सुनौलो बहुउदेश्यीय, श्री लुम्बिनी, उपकार, आगन्तुक, विश्व विराट, आगमन, पारदर्शी, सुनौलो, शाईन बहुउदेश्यीय बचतकर्ताहरूको रकम फिर्ता गर्न नसकेर भाग्ने सहकारी मध्येमा पर्छन्। बचतकर्ताहरू ती सहकारीका अध्यक्ष लगायत सञ्चालक समितिको खोजीमा कहिले प्रहरी कार्यालय, कहिले जिल्ला प्रशासन कार्यालय त कहिले सहकारी रजिष्ट्रारको कार्यालयमा धाइरहेका छन् ।
-सेतोपाटीबाट