☰ open Loading... 21 September 2024|  

देशको राजनीति दिशाहीन भयोः झलनाथ खनाल
पश्चिम नेपाल   | २ आश्विन २०८०, मंगलवार १६:०९

पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताएका छन्। पूर्वप्रधानमन्त्री खनालले देशको राजनीति दिशाहीन भएको बताए।
उनले राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा संकटहरु बढ्दै गएको जिकिर गरे। उनले देशका वामपन्थीहरु मेलमिलाप भएमात्रै स्व.सुवासचन्द्र नेम्वाङप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताए।

मंगलबार नेकपा एमालेले आयोजना गरेको सुवास र संविधान विषयक कार्यक्रमलाई एमाले पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले संविधान बनाउँदा नेतृत्व वर्ग सचेत भएजस्तो कार्यान्वयको बेलामा भने हुन नसकेको जिकिर गरे। उनले बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देशको रुपमा संविधानमा उल्लेख भए अनुसारको मर्म र भावनालाई जनतासमक्ष बुझाउन नसकिएको स्पष्ट पारे। उनले संविधानको मर्म र भावनालाई जनतामा बुझाउन नसक्दा अहिले कोशी प्रदेशमा पहिचानको नाममा आन्दोलन भइरहेको उल्लेख गरे।

संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न नसक्नु नेतृत्वको कमजोरी भएकाले अब सबैले संविधानको कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ थियो।