☰ open Loading... 20 September 2024|  

पाँच जनाको अध्यक्षमा दाबी
पश्चिम नेपाल   | ४ आश्विन २०८०, बिहीबार १०:३१

नेकपा एमालेको प्रथम प्रदेश अधिवेशन आउन जम्मा अब ६ दिन बाँकी रहेका छन् । कर्णाली प्रदेशको प्रथम अधिवेशन आगामी असोज १० गते पार्टी अध्यक्ष केपि शर्मा ओलीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

नेकपा एमालेको अधिवेशनको मिति नजिकिँदै जाँदा कर्णालीमा गुट–उपगुट जन्मने क्रममा तीव्रता आएको छ । नेतृत्वले सर्वसम्मत नेतृत्व चयन गर्ने बताएपनि कर्णालीमा भने मतदान हुने निश्चित जस्तै छ तर त्यो भनेको सबै पदका लागि नभई अध्यक्ष पदका लागि चुनाव हुने सम्भावना अत्याधिक बनेको हो ।

अध्यक्ष पदका लागि मात्रै चुनाव भएर एमालेको दशौं महाधिवेशनमा चितवनको सौराहामा देखिएको परिदृश्य कर्णालीमा कतै लागु हुन्छ कि भन्ने आशंका यत्रतत्र सर्वत्र देखिन थालेको छ ।

कर्णाली प्रदेश भरिबाट एमालेको उक्त अधिवेशनमा जम्मा ६०० जना प्रतिनिधि छानिएर आएका छन् । यी मध्ये पार्टी पोलिटव्यूरो सदस्य, रुकुम पश्चिम इन्चार्ज र जनवर्गीय संगठनका प्रदेश संयोजक गुलावजंग शाह प्रदेश अध्यक्ष बन्नकै लागि प्रदेश प्रतिनिधि बनेर आएका छन् । उनिबाहेक अरु कोही पनि पोलिटव्यूरो सदस्य प्रदेश प्रतिनिधिमा आएनन् ।

हाल दैलेख इन्चार्ज रहेका पार्टी स्थायी कमिटि सदस्य यामलाल कंडेल निकट रहेका शाह सकेसम्म सर्वसम्मत आफैं अध्यक्ष हुने लाईनमा छन तर कंडेलकै टिमबाट अध्यक्ष नछाडने भनेर पूर्व प्रतिनिधि सभा सदस्य ध्रुवकुमार शाही पनि तीव्र लविङमा छन् ।

तत्कालिन एमालेको माधव नेपाल खेमामा रहेका ध्रुव पछिल्लो समयमा कंडेलका विश्वासपात्रका रुपमा चिनिन थालेका छन् । करिब एक चौथाई प्रतिनिधि सुर्खेतबाट छानिएका कारण उनि आफूले उम्मेदवारी दिएको खण्डमा सहजै जीत निकाल्नेमा ढुक्क देखिन्छन् तर सोही गुटबाट अध्यक्षमा दाबी गरेका शाहलाई ‘व्याक’ गर्नु भनेको उनका लागि फलामको च्यूरा चपाउनु सरह नै हो ।

यद्यपी, केन्द्रमा महासचिव शंकर पोखरेल निकट मानिँदै आएका कंडेलले दुई मध्ये कसलाई अध्यक्षमा रोक्लान भन्ने कुरा चासोको रुपमा रहँदै आएको छ ।
यदि सुर्खेतका ध्रुवकुमार शाही बाहेक गुलावले अध्यक्षको टिकट पाएको खण्डमा सुर्खेतमा चार ओटा गुट सतहमा छताछुल्ला हुनेछन् ।
ध्रुवसँग २५ देखि ३० प्रतिशत प्रतिनिधि छन भने एमाले अध्यक्ष अमृत विसिसँग १५ देखि २० प्रतिशत प्रतिनिधि छानिएर आएका छन् । यस्तै, यामलालसँग ३० देखि ३५ प्रतिशत प्रतिनिधि हुँदा नवराज रावतसँग पनि २० देखि २५ प्रतिशतसम्म प्रतिनिधि छन् ।

यो दृश्यले के जनाउँछ भने सुर्खेतले अध्यक्ष नपाएको खण्डमा यहाँबाट गुलावजंगले बढीमा ५५ प्रतिशत मत मात्रै पाउने अनुमान एमालेका नेताहरुको छ । वाँकी रहेको ४५ प्रतिशत मत मध्ये २० देखि २५ प्रतिशत वोगटी समूहलाई जान सक्छ भने वाँकी मत अन्य उम्मेदवारलाई जाने देखिन्छ ।

यस्तै, कर्णालीमा प्रखर रुपमा अर्को गुटपनि छ । सुर्खेतमै यामलालको विरुद्धमा नवराज रावत देखि डण्डि शर्माको गुटले टक्कर दिइरहेको समयमा अर्का स्थायी कमिटि सदस्य गोरख वोगटीको पछिल्लो समयमा कर्णालीमा प्रभाव विस्तार हुन थालेको छ ।

उनि हाल सुर्खेत जिल्लाको इन्चार्ज समेत भएका कारण सुर्खेतमा कति प्रतिनिधिलाई उनको समूहले प्रभावित पार्छ भन्नेमा धेरैको ध्यान जान थालेको छ । सुर्खेतमा धेरै प्रतिनिधि भएका कारण यहाँ कसरी खेल्न सकिन्छ र कंडेलको टिमलाई विभाजित गर्न सकिन्छ भन्ने रणनीतिमा यो समूह विगत देखि नै लागिरहेको छ ।

यो समूहबाट कालिकोटका मीनबहादुर शाही उम्मेदवार बन्ने करिब निश्चित भएको छ । उनि अध्यक्ष बनेपछि भने वोगटी समूहलाई ‘सोचे झैं जिन्दगी रैन छ’ भन्ने बोलको गीत जस्तै अवस्था आउन सक्छ ।

यसको एकमात्र कारण के हो भने शाहीलाई सुर्खेत, जाजरकोट, दैलेख, सल्यानबाट सोचेजस्तो मत आउँदैन । उनको गृहजिल्ला कालिकोटबाट समेत उनले एकलौटी मत पाउने अवस्था छैन । यस्तै, हिमाली जिल्लामा समेत उनको प्रभाव कम छ । वोगटीको गृहजिल्ला हुम्लाबाट समेत उनको पक्षमा बहुमत प्रतिनिधिको मत आउन नसक्ने भएका कारण उनलाई प्रतिस्पर्धा गर्न गाह्रो त हुने नै छ, त्यसको ‘इफेक्ट’ कर्णालीमा वोगटी समूह झनै कमजोर बन्नेछ ।

प्रदेश अध्यक्षका लागि अर्का दावेदारको रुपमा दैलेखको ठाँटीकाँधका राजबहादुर शाही पनि छन् । उनि हालसम्म कुनै समूहको उम्मेदवार नबन्ने, पार्टीको उम्मेदवार बन्ने भन्दै अध्यक्षमा दाबी नछोडने बताउँछन् । पूर्व सभामुख रहेका उनि कर्णालीका दशै जिल्लामा रहेका असन्तुष्ट नेता तथा कार्यकर्ताहरुमा प्रभाव राख्छन् । दैलेखबाट अर्को उम्मेदवार नभएको खण्डमा उनको पक्षमा जर्वजस्त माहौल बन्न सक्छ ।

सुर्खेत, दैलेख, कालिकोट, मुगु, रुकुमपश्चिमलगायतका जिल्लाबाट छानिएर आएका प्रतिनिधिले गुट नहेरी मतदान गरेको खण्डमा उनी बलियो दावेदारका रुपमा रहनेछन, तर सुर्खेतका ध्रुव कुमार शाही अध्यक्षका उम्मेदवार बने भने उनको कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

७२ मत रहेको दैलेखमा उनले ५० देखि ५५ मत ल्याउन सक्ने अनुमान भइरहेको समयमा उनले दैलखेका नेताहरु राजबहादुर बुढा, लक्ष्मी प्रसाद पोखरेललाई कसरी मिलाएर लैजान सक्छन भन्ने कुराले उनको मत प्राप्तीमा प्रभाव राख्ने निश्चित छ ।

एमालेको गढको रुपमा रहेको दैलेखको निर्वाचन क्षेत्र नम्बर एकमा रविन्द्रराज शर्मा एकल नेताको रुपमा भएपनि निर्वाचन क्षेत्र नम्बर दुईमा भने उपगुटहरुको जत्था बन्दै गएको छ ।

उदाहरणकालागि अहिले पार्टी अध्यक्ष विनोद कुमार शाह र नेता विष्णु रिजाल र रुद्र शाही एक ठाउँमा आइपुगेका छन् । उनको माथिल्लो गुटका नेता वोगटी हुन भने राजबहादुर बुढा, लक्ष्मी पोखरेल, सुशिल थापाको टिम एक ठाउँमा आएको छ । यी दुवै टिममध्येबाट राजबहादुर शाहीले कुन टिमलाई साथमा लिन सक्छन त्यसले मत परिणाममा व्यापक फेरबदल गर्नेछ ।

अर्का अध्यक्षका दावेदारका रुपमा कालिकोटकै प्रेमबहादुर सिंह आएका छन् । उनि प्रतिनिधि सभाको निर्वाचनको केहि समय अघि मात्रै एमालेमा फर्केका हुन । एमालेले समानुपातिक कोटामा उनलाई राखेपनि उनले यसपटक मौका भने पाएनन् । राजनीतिका चतुर खेलाडी मानिने सिंह हिमाली जिल्लाबाहेक साविकको भेरी र राप्तीमा खासै कार्यकर्तामाझ नभिजेका कारण उनलाई प्रतिनिधिले पत्याउने सम्भावना कम भएपनि राजनीतिमा के हुन्छ भन्न सकिने अवस्था भने छैन ।

यसरी विश्लेषण गर्दा एमालेको प्रथम अधिवेशनमा नीतिगत कुराभन्दा पनि भोटको हिसाबले बढी प्राथमिकता पाउने भएको छ । सबै नेताहरु आन्तरिक तयारीमा लाग्न थालेका छन्, भने नेताहरु आफ्नो टिमलाई कसरी जिताउने भन्ने ध्यानमा लागेका छन् ।

राजबहादुर शाही र प्रमेबहादुर सिंहले अध्यक्ष वाहेक अन्यत्र उम्मेदवारी नदिने बताइरहेका समयमा अध्यक्ष पदकालागि चुनाव हुने सम्भावना बलियो बन्दै गइरहेको छ । यस हिसाबमा एमालेको दशौं महाधिवेशनमा जसरी अध्यक्ष र केहि पदमा मात्रै चुनाव हुने वातावरण बन्दै गइरहेको छ ।

-पहिलोप्रेसबाट