☰ open Loading... 8 May 2025|  

गाउँमै पुग्यो बर्थिङ सेन्टर
पश्चिम नेपाल   | ६ आश्विन २०८०, शनिबार ०५:४६

मुगु। मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ११ रोवा गाउँका बुद्धु बुढा उमेर अहिले ६० नाघिन्। विगतमा शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताका लागि जति संघर्ष, सास्ती खेपिन् उनले अहिले पनि अवस्था उस्तै थियाे । विगतका ति दिनहरुलाई फर्केर हेर्दा  गुजारेकाे कष्टकर क्षण सम्झिदा उनको मन भक्कानिन्छ।

सिटामोल पाउन पनि मुस्किल पर्ने मुगाली जनता सधैँ रोग र भोकले पीडित बनिरहे। तर, देशमा संघीयता कार्यान्वनयनसँगै  जिल्लामा सञ्चालित संघ संस्थाले गर्दा पछिल्लो समय मुगुका नागरिक स्वास्थ्य सेवाकाे पहुँचमा पुग्न थालेका छन्।

मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ६ , ११ , र १४ वडामा बर्थिङ सेन्टर सञ्चालन भएकाले यहाँका मानिस हर्षित देखिन्छन्। अकालमा शिशु  र आमाकाे मृत्यु हुने अवस्थालाई बर्थिङ सेन्टरले अन्त्य गर्न सहयाेग गर्ने अपेक्षा स्थानीयले गरेका छन्।

मातृ तथा बाल स्वास्थ्य सुधार परियोजना कार्यक्रम अन्तर्गत रोवा प्रसूति गृह निर्माण भएपछि अब ११ नं वडाका नागरिकहरुले सहजै रुपमा सुविधा युक्त संरचनामा सुत्केरी गर्न पाउने भएका छन् ।

कोईका , गुर्ड नेवर्स जापानको आर्थिक सहयोग र किर्डाक नेपालको प्राविधिक सहयोगमा जम्मा ६३ लाख ६६ हजार ६ सय ७२ रुपैयाको लागतमा रोवा गाउँमा पहिलो पटक बर्थिङ सेन्टर निर्माण भएको एमसिएच प्रोजेक्ट कार्यक्रमका राजेस उपाध्यायले बताए।