☰ open Loading... 24 November 2024|  

सामाजिक सेवा दिवसको अवसरमा तीन जना सम्मानित
पश्चिम नेपाल   | ६ आश्विन २०८०, शनिबार १५:३९

सुर्खेत । ४४ औं सामाजिक दिवसको अवसरमा तीन जना सम्मानित भएका छन् । सामाजिक सेवा दिवस अवसरमा गैर सरकारी संस्था महासंघ सुर्खेतले तीन जना समाजसेवी सम्मान गरेको हो ।

दिवसमा अवसरमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य मीनबहादुर शाही, कलाकार प्रेमदेव गिरी र शिक्षा क्षेत्रका अभियन्ता शिला गुरुङलाई सम्मानित गरिएको छ ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले शाही, गिरी र गुरुङलाई सम्मानित गर्दै आफुले गरेको कामको आफैले मुल्याङ्कन गर्न नसकिएको बताए । ‘कति काम गरिएको छ भन्ने तिरभन्दा पनि अर्कोले काम गर्न दिएन, मैले राम्रै गरिरहेको थिए भन्ने बुझाइ सबैमा देखियो ।’ उनले भने, ‘अर्कोले राम्रो गरेकोलाई राम्रो नभन्ने परिपाटी हावी भएको छ । हामी सबै आफैले राम्रो गरेको भन्ने तर जनताले अनुभूति नै नगर्ने अवस्था आएको छ ।’

मन्त्री जिसीले समाजसेवा गर्न सबैमा समान दृष्टिकोण राख्नुपर्ने बताए । ‘विकास निर्माणदेखि समाज रुपान्तरण गर्न सबैमा दृढता हुनुपर्छ ।’ उनले भने,‘जसका लागी काम गरिन्छ । उसले सदाका लागि त्यसबाट लाभ लिन सकोस ।’

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाहीले समाज रुपान्तरणको क्षेत्रमा गैससले खेलेको भूमिकाको प्रसंशा गर्न आवश्यक रहेको बताए । ‘विकास निर्माणमात्रै समाजसेवा नभएको बताउदै समाजको सकारात्मक रुपान्तरणमा सबैले ध्यान दिनुपर्छ ।’ उनले भने,‘मान्छेमा जातीय, धार्मिक, भौगोलिक विभेद कायमै छ । अब परोपकारको क्षेत्रमा अघि बढ्न आवश्यक छ ।’

समाज रुपान्तरण क्षेत्रमा लागेका व्यक्तिहरुलाई सम्मान गरिएको र यो सम्मानले उहाँहरुलाई अरुलाई समाजसेवामा लाग्न प्रेरित गर्ने गैर सरकारी संस्था महासंघ, नेपाल सुर्खेतका अध्यक्ष प्रकाश सारुले बताए । ‘हामीले उहाँहरुलाई केही दिएका हैनौ ।’ उनले भने,‘केवल सम्मान मात्रै गरेका हौं ।’