☰ open Loading... 25 November 2024|  

जुम्ला विमानस्थल विस्तार गरिने
पश्चिम नेपाल   | ७ आश्विन २०८०, आईतवार २१:५५

जुम्ला विमानस्थल विस्तार गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण कर्पोरेट योजना तथा अनुगमन विभागले नेपाल नागरिक उड्डयन प्राधिकरण जुम्लालाई पठाएको पत्र अनुसार जुम्ला विमानस्थल विस्तार गर्न ४ करोड ४२ लाख ४७ हजार ७ सय ८७ रुपैयाँ ६१ पैसा स्वीकृति भएको छ ।

जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीका अनुसार सो कार्यक्रम स्वीकृत भई आएको छ । विमानस्थलको जग्गा अधिकरण गरिसकेपछि विस्तार कार्यक्रम अन्तर्गत धावनमार्ग, ट्याक्सी वे र एप्रोन निर्माणको काम गरिने छ ।

प्राधिकरणले जुम्लासहित ७ वटा विमानस्थलमा भेहीकलबाट पानी भर्ने व्यवस्थाका लागि एकमुष्ट ४० लाख बजेट विनियोजन समेत गरेको छ । यो बजेटबाट प्रतिविमानस्थल ५ लाख ७१ हजार ४२८.५७ पैसा रकम प्राप्त हुनेछ ।

अहिले जुम्ला विमानस्थलमा साना ट्वीनअटर जहाज बस्न सक्छ । विमानस्थल विस्तार गरी ठूला जहाज बसाल्न सक्ने बनाउन स्थानीयले माग गर्दै आएका छन् । जुम्ला साविक कर्णालीको सदरमुकाम पनि हो ।