☰ open Loading... 25 November 2024|  

४ करोड भन्दा बढीको क्षति, २८ परिवार प्रभावित
पश्चिम नेपाल   | ८ आश्विन २०८०, सोमबार ०८:२९

सदरमुकाम गमगढीमा अवस्थित तल्लो बजारमा शुक्रबार राति भएको आगलागीबाट ४ करोडभन्दा बढीको भौतिक संरचना र धनमालको क्षति भएको पाइएको छ।

आइतबार बिहान बसेको जिल्ला विपत् समितिको बैठकमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले आगलागीमा ४ करोडभन्दा बढीको भौतिक सम्पत्ति र धनमालको क्षति पुगेको रिपोर्ट प्रस्तुत गरेका थिए।

आगलागीमा जलेका घरका धनी, विभिन्न व्यवसाय गर्दै आएका व्यवसायी र घर बहालमा बस्नेहरूबाट लिएको मालसामानहरूको सूचना र बजार मूल्य विश्लेषण गरेर अनुमानित क्षतिको विवरण निकालिएको डिएसपी थापाले बताए।

बैठकमा नेपाल रेडक्रस मुगु शाखाका महामन्त्री रत्न मल्लले पीडित परिवारहरूको तथ्यांक प्रस्तुत गरेका थिए। तथ्यांक अनुसार आगलागीबाट ८ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। भने ३ वटा घरमा आंशिक क्षति पुगेको छ। आगलागीबाट २८ परिवारका ९५ जना प्रभावित भएका छन्।
-नागरिकन्यूजबाट

आगलागीका प्रभावितमध्ये ४७ जना बालबालिका छन्।आगलागीबाट क्षति भएका घरहरूमा विभिन्न व्यवसाय गर्दै आएका ९ जना व्यवसायीका पसल र घरभाडामा बस्दै आएका ११ जनाको सामान तथा लत्ताकपडा पनि जलेर खरानी भएको रेडक्रसले प्रस्तुत गरेको रिपोर्टमा उल्लेख छ।

आगलागी भएपछि झ्यालबाट हाम फालेर भाग्दा राष्ट्रिय लोक दोहोरीकी मुगु जिल्ला कोषाध्यक्ष गायिका स्वस्तिका शाही घाइते भएकी छिन्। हाम फाल्ने क्रममा उनको छाती र हातखुट्टामा चोट लागेको छ। उनको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।

आइतबार जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा सहभागी विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्था कार्यालयहरूले आगलागीबाट पीडित परिवारहरूलाई आर्थिक तथा जिन्सी राहत सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रमुख जिल्ला अधिकारी थापाले दिएको जानकारी अनुसार पीडित परिवारलाई हिरिन्डेक नेपाल मुगुले व्यक्तिगत तथा घरायसी सरसफाइका सामग्री, छायाँ नेपालले खाद्यान्न, युएमएन क्लस्टरले आगलागी भएका घरधनीलाई ३ लाख रुपैयाँबराबरको सहयोग, कर्णाली सामुदायिक विकास केन्द्रले २ लाखबराबरको सहयोग र हिरिन्डेकले ५० हजारबराबरको सहयोग गरेको छ।

यस्तै, आगलागीबाट प्रभावितहरूलाई साहस नेपालले प्रतिघर ७ हजारसम्मको खाद्यान्न सहयोग गर्ने र आइएनएफ मुगुले जिल्ला विपत् समितिको सहयोग आग्रह केन्द्रमा पठाई केन्द्रको निर्णयअनुसार पीडित परिवारलाई सहयोग गर्ने बताएको छ।

छलफलमा सहभागीले मुगु सदरमुकाम वर्षेनी आगलागीको चपेटामा पर्दै आएकाले दीर्घकालीन समाधानका लागि ध्यानाकर्षण गराएका थिए। दमकलको व्यवस्था गर्नुपर्ने, घरहरूमा गुणस्तरीय वाइरिङ गर्न पालिकाले कडाइ गर्नुपर्ने तथा पेट्रोल, डिजेल र ग्यासका गोदाम घनाबस्तीभन्दा टाढा राख्न लगाउनुपर्ने सुझाव उनीहरूले दिए।