सुर्खेतमा नेपाल प्रहरीको विशेष सुरक्षा गण स्थापना हुने भएको छ।सङ्घीयता पछि प्रदेशमा पहिलो पटक नेपाल प्रहरीको सुरक्षा गण स्थापना हुन लागेको हो।
गुर्भाकोट नगरपालिका-१४ गुमीमा गण स्थापना हुन लागेको हो। विस्तृत शान्ति सम्झौतापछि माओवादी सेनाको अस्थायी शिविर भएको जग्गामा विशेष सुरक्षा गण स्थापना गर्न लागिएको छ।
यसअघि उक्त जग्गा र संरचनामा सशस्त्र प्रहरीको एक टोली बसेको थियो। उक्त ठाउँमा गण स्थापनाका लागि साढे ४ बिघा जग्गा नेपाल प्रहरीको नाममा आएको छ।
अहिले कर्णाली प्रदेशमा पनि नेपालगञ्जमा रहेको विशेष सुरक्षा गणले हेरिरहेको थियो। गुमीमा संरचना स्थापना र गण स्थापनाको काम सँगसँगै पूरा गरिने नेपाल प्रहरीको कर्णाली प्रदेश कार्यालयले जनाएको छ।
उचित निर्णय नहुँदा र बजेटको व्यवस्थापन नहुँदा कर्णालीमा नेपाल प्रहरीको विशेष सुरक्षा गण स्थापना हुन सकेको थिएन।
पछिल्लो पटक गण स्थापनाका लागि गुमीमा रहेका अस्थायी संरचनाहरूको मर्मत गरेर ३५ जना प्रहरी बसेका छन्। गणमा ५ सय जना प्रहरीको दरबन्दी रहेको छ।
कर्णाली प्रदेश सरकारले तत्काल मर्मत तथा आवश्यक संरचना निर्माणका लागि १ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।