तपाईं ४० वर्षको हुुनुभयो? तपाईंमा उच्च रक्तचाप, कोलेस्ट्रोल या मधुमेहको समस्या बढ्दैछ? यस्ता समस्या भएका व्यक्तिहरू हृदयाघात या मुटुरोगको उच्च जोखिममा हुन्छन्। यो उमेर समूहका व्यक्तिले स्वास्थ्यमा ध्यान नदिए जुनसुकै बेला हृदयाघात हुने या मिर्गौला काम नलाग्ने हुन सक्ने चेतावनी चिकित्सकले दिएका छन्। बिहीबार वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओम मूर्ति अनिलले मुटुरोगबारे प्रस्तुति दिँदै यस्तो चेतावनी दिएका हुन्। ४० वर्ष पुगेका व्यक्तिमा मुटुरोगका कारक समस्याहरू भइसकेको हुने भएकाले नियन्त्रण नगरे हृदयाघातको उच्च जोखिम हुन्छ। हृदयाघात भए मुटु बन्द भई मुत्युसमेत हुन्छ।
जीवनशैलीमा परिवर्तन ल्याए चिकित्सकको सल्लाहमा औषधि घटाउन र सेवन रोक्न सकिन्छ। तर आफूखुसी औषधि छाड्दा कुनै पनि बेला हृदयाघातको जोखिम हुन्छ। निश्चित उमेर पुगेपछि व्यायाम गर्दा पनि जथाभाबी गर्न नहुने डा. मूर्तिको सुझाव छ। जथाभाबी कडा व्यायाम गर्दा पनि हृदयाघात हुन सक्ने भएकाले त्यसलाई बिस्तारै बढाउनुपर्ने मूर्तिको भनाइ छ। ‘एकैचोटि कडा व्यायाम गरेका कारण हृदयाघात भएर आएका बिरामी धेरै भेटेको छु,’ उनले भने।
उनका अनुसार २० देखि ४० वर्षभित्रका युवाहरूले स्वस्थ जीवनशैली अपनाए हृदयाघातका कारकहरू मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न सकिन्छ। तर ६० वर्षदेखि माथिका मानिसहरूले जीवनशैली परिवर्तन गरेर मात्र मुटुजन्य रोगका कारकहरू नियन्त्रणमा आउन सम्भव हुँदैन।
‘हृदयाघातबाट बच्न युवाहरूले जीवनशैली स्वस्थ बनाउन जोड दिनुपर्छ, ४० वर्षमाथिकाले मुटुजन्य रोग छन् कि भनेर सोचविचार गर्नुपर्छ, ५५/६० पुगेपछि औषधिमा जोड दिनुपर्छ,’ उनले भने। ४० देखि ६० वर्षसम्म मुटुरोगबाट बच्ने उपाय खोज्नुपर्ने सुझाव उनले दिए। त्यसअघिको उमेरमा उच्च रक्तचाप, कोलेस्ट्रोल र मधुमेह हुन नदिने प्रयास गर्नुपर्छ। अनिलका अनुसार यो ६० वर्षदेखि माथिका मानिसहरूले जोखिम रोगहरू भए चिकित्सकको सल्लाहमा अनिवार्य औषधि सेवन गर्नुपर्छ। ‘बढी उमेरका व्यक्तिहरूले जीवनशैली परिवर्तन गरेर मात्र हुँदैन। औषधि नै सेवन गर्नुपर्छ। औषधि छोड्ने गल्ती गर्नुभयो भने जुनसुकै बेला मुटु बन्द हुन सक्छ या मिर्गौला फेल हुन सक्छ,’ उनले भने।
नेपालमा बर्सेनि मुटुरोगका कारणले कतिको मृत्यु हुन्छ भन्ने विषयमा यकिन तथ्यांक नभए पनि मुटुरोग निम्त्याउने जोखिमपूर्ण रोग उच्च रक्तचाप, मधुमेह, मोटोपना, कोलेस्ट्रोल बर्सेनि बढ्दै गएको अस्पतालमा बिरामीको संख्याले औंल्याउने डा. अनिल बताउँछन्।
पछिल्लो समय बाथ मुटुरोग तथा जन्मजात हुने मुटुरोगको निदान र उपचार भई नियन्त्रणमा आइसकेको अवस्थामा हृदयाघात नियन्त्रणमा आउन सकेको छैन। मुटुरोगमध्ये हृदयाघात मृत्युको मुख्य कारण हो। संसारमा ५० प्रतिशतभन्दा बढी मृत्यु हृदयाघातका कारणले हुने गरेको तथ्यांक छ। चिकित्सकका अनुसार जिउ सुन्निनु, छाती दुख्नु, स्वाँस्वाँ बढ्नु, बेहोस हुनु, थकान हुनु हृदयाघातका मुख्य लक्षण हुन्। मानिसले मुटुको रोग भन्नेबित्तिकै हृदयाघात भनेर बुझ्छन्।
हृदयाघातका कारण धेरै मानिसको मृत्यु हुन्छ। घरमा हृदयाघात भए र त्यही बेला मुटु बन्द भए बिरामीको उपचार सम्भव हुँदैन र मृत्यु हुन्छ। हृदयाघातको जोखिम भएका मानिसलाई सुरुमा खानपान र व्यायामबाट सुधार गर्न सकिन्छ। समयसमयमा मुटु जाँच गर्दा मुटुमा समस्या देखिए मिनिमल इन्भेसिभ उपचार अर्थात् एनजिओप्लास्टी गरेर अवरोध भएको धमनी खोल्न सकिन्छ। अरू पनि परीक्षण छन्। यो उपचार अपे्रसनबिना सम्भव हुन्छ। अर्को प्रविधि बाइपास अपे्रसन र पेस मेकर प्रविधिबाट पनि उपचार गर्न सकिन्छ।