अभिनेता अनमोल केसी पक्राउ परेका छन्। केसीलाई आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।
रेग्मीका अनुसार प्रहरीले उनलाई साँगाबाट पक्राउ गरेको हो। रावायण फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएको थियो।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार, केसीले फिल्म खेल्छु भनेर बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएका थिए । तर, फिल्म खेल्न मानेका थिएनन् ।
यही फिल्मलाई लिएर निर्माण पक्षको एक करोड ५ लाख रुपैयाँ बजारमा गइसकेको समेत उनले बताए । ‘जाहेरी आएपछि धेरै पटक छलफलका लागि बोलाउँदा पनि उहाँ आउनुभएन’, एसएसपी राठौरले भने, ‘त्यसपछि पक्राउ पूर्जी जारी गरेर नियन्त्रणमा लिएका हौं ।’