वरपर अग्ला–अग्ला डाँडा, तलतिर नीलो रङमा बग्दै गरेको कर्णाली नदीको कञ्चन पानी, कर्णाली नदीमाथि चिसापानीमा रहेको एसियाकै नाम चलेको कर्णाली पुल । यही कर्णाली नदी र नदीमाथिको पुल पछिल्लो समय घुमघामको गन्तव्य बन्दै गएको छ ।
वरपर अग्ला–अग्ला डाँडा, तलतिर नीलो रङमा बग्दै गरेको कर्णाली नदीको कञ्चन पानी, कर्णाली नदीमाथि चिसापानीमा रहेको एसियाकै नाम चलेको कर्णाली पुल । यही कर्णाली नदी र नदीमाथिको पुल पछिल्लो समय घुमघामको गन्तव्य बन्दै गएको छ ।
सार्वजनिक बिदाका दिन र शनिबार त झन् टिकटक बनाउनेको मेलाजस्तै लाग्छ । कर्णाली पुलमा टिकटक बनाउनेमध्येकी एक हुन् तामाङ समुदायको पहिरनमा सजिएकी सम्झना चौधरी । बर्दगोरियाकी चौधरी अनेक गीतमा नाच्दै रमाउँदै गरेको दृश्य क्यामेरामा कैद गर्न व्यस्त थिइन् । सघाइरहेकी थिइन् उनकी साथी । त्यहाँ सम्झनाजस्तै विभिन्न समूह त्यसरी नै टिकटक र फोटो खिच्न व्यस्त देखिन्थे । पृष्ठभूमिमा पुलको पूरै भाग र तल बगिरहेको कर्णाली एकैसाथ कैद गर्न लागिपरेका देखिन्थे अधिकांश । पुलसँगै त्यहींबाट सुरु हुने रानी जमरा सिँचाइ कुलोले पनि चिसापानीको आकर्षण थपेको छ । पुलको एक छेउबाट सुरु हुने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्रको संरक्षित घना जंगल चिसापानीको आकर्षण पहिल्यैदेखिकै हो ।
कर्णाली पुलमा टिकटक भिडियो बनाउने र फोटो खिच्न चाहनेहरूका लागि स्थानीय युवाले केही महिनायता मगर, नेवार र तामाङ समुदायको पोसाक पनि उपलब्ध गराउने व्यवसाय सुरु गरेका छन् । साथै व्यावसायिक फोटोग्राफरहरू पनि उपलब्ध हुन थालेपछि त कर्णाली पुलको टिकटक क्रेज बढिरहेको छ । चिसापानीका २२ वर्षीय रमेश सारुमगरले दुई लाख मूल्यको क्यामेरा किनेर पुलमा फोटो खिच्ने र टिकटक भिडियो बनाउनेका लागि सेवा दिन थालेका छन् । रमेशजस्तै १२ जना फोटोग्राफर अहिले पुलमा फोटो, भिडियो खिच्ने हो भन्दै आइपुग्छन् । एक पटक फोटो खिचेको २० रुपैयाँ लिने गरेको उनीहरू बताउँछन् ।
त्यस्तै, टिकटक र फोटो खिच्नेका लागि मगर, नेवार र तामाङ समुदायको पहिरन पहिलो पटक उपलब्ध गराउन थालेकी हुन् चिसापानीकै हस्तिनासिंह ठकुरीले । ‘आधा घण्टाको एक सय रुपैयाँ लिन्छु,’ हस्तिनाले भनिन्, ‘मगर समुदायको पहिरनको एक सय, नेवारको डेढ सय र तामाङ पहिरनको दुई सय लिने गरेकी छु ।’ यसबाट राम्रै कमाइ भइरहेको उनको भनाइ छ । ‘सबैगरी सुरुमा २० वटा सेट बनाएर ल्याएकी हुँ । अब बढाउने विचार छ,’ उनले भनिन् ।
पाँच सय मिटर लामो आकर्षक पुलमा फोटो खिच्ने र टिकटकमा रमाउने संख्या पनि बिदाका दिन उल्लेख्य हुन्छ । ‘धेरै रमाइलो लाग्यो,’ पहिलो पटक पुल हेर्न पाएको बताउने बुढीगंगाका वीरबहादुर थापाले भने, ‘जति हेर्यो, कर्णाली त हेरिरहुँजस्तो लाग्ने रहेछ । फोटो र टिकटक भिडियो त कति बनाइयो बनाइयो ।’ अछामका बलबहादुर कुँवरले पनि उस्तै अनुभव सुनाए । ‘कर्णाली पुलमा धेरै पटक पुगिसकें तर फोटो खिच्ने धीत कहिल्यै मर्दैन,’ उनले भने ।
चिसापानीको अर्को आकर्षण त्यहाँ पाइने माछा हो । घुम्नकै लागि मात्र त्यहाँ पुगेकाहरू कर्णाली पुलमा रमाउँछन् अनि चिसापानीको माछाको स्वादले आनन्दित हुन्छन् । ‘ओहोरदोहोर गर्नेहरू अक्सर सबैले एकपल्ट चिसापानीमा ओर्लेर माछाको स्वाद चाखेरै जान्छन्,’ चिसापानीमा एक दशकदेखि होटल सञ्चालन गर्दै आएका हेमबहादुर थापाले भने, ‘पहिलोपल्ट यो ठाउँ हेर्नकै लागि आउनेले त झन् माछाको स्वाद मिस गर्ने कुरै हुँदैन ।’
ईकान्तिपुरबाट