☰ open Loading... 23 December 2024|  

प्रदेश खारेजीको माग गर्दै प्रदर्शन
पश्चिम नेपाल   | २० आश्विन २०८०, शनिबार १९:०७

प्रदेश खारेजीकाे माग राख्दै ‘सचेत नागरिक अभियान’ का नाममा शनिबार विराटनगरमा प्रदर्शन भएको छ। सचेत नागरिक अभियानका नाममा प्रदेश खारेजीको माग गर्दै कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदर्शन भएको हो।

प्रदर्शनकारीले ‘जागौं जनता जागौं, प्रदेश सरकार चाहिँदैन देश डुबाउन पाउँदैन। सारा नेपालीको एउटै आव्हान, प्रदेश खारेजीको एउटै अभियान’ भन्ने मूल नारासहित प्रदेश खारेजीको माग राख्दै नाराबाजी गरेका थिए।

कञ्चनबारी चोकमा नाराबाजी गर्दै सुरु भएको उनीहरुको विरोध मोटरसाइकल र्‍याली नगरको कोशी लोक मार्गको रोडशेष चोक, मेन रोड, पुष्पलाल चोक, खार्जी चोक हुँदै पुनः कञ्चनबारी आएको समाप्त भएको थियो।

नागरिक अगुवा प्रा.डा. भेषप्रसाद धमला, शिक्षाविद् भेषराज पोखरेल, अभियानका सदस्य राजेन्द्र खनाल लगायतले सचेत नागरिक अभियानका बारेमा प्रष्ट पारेका थिए। उनीहरुले मर्म अनुसार सङ्घीयताको सदुपयोग गर्न नसक्दा देश अन्योलतर्फ गएको बताए।