☰ open Loading... 23 December 2024|  

वीरगञ्जबाट राजस्व संकलन घट्दै
पश्चिम नेपाल   | २० आश्विन २०८०, शनिबार १९:१५

राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलन क्रमिक रुपमा घट्दै गएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व संकलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व संकलन गरेको जनाएको छ ।

चालु आवको साउनका लागि भन्सार विभागले १५ अर्ब ६२ करोड ३७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा ३ अर्ब ७५ करोड ३२ लाख रुपैयाँ कम राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।

उनका अनुसार भदौका लागि विभागले १९ अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकामा १२ अर्ब ७१ करोड रुपैयाँ मात्र संकलन भएको छ ।

भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने पेट्रोलियम पदार्थ, वाहनलगायतका २० वस्तुको आयातबाट संकलन हुने राजस्व घट्दै गएको ढकालले बताए ।