दशैं तिहारको मौका छोपेर जथाभावी यात्रु चढाउने, भाडाँदर बढाउने लगायतका समस्याहरु हुन थालेपछि कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआईजी) भिम प्रसाद ढकालले स्थलगत रुपमा अनुगमन थालेका छन् । यातायात समिति, गाडी सञ्चालनहरुबाट भएगरेको दुःखबारे बुझ्न यात्रुहरुसंग डिआईजी ढकालले बसपार्क र वीरेन्द्रनगर बाहिरिने नाकाहरुमा पुगेका हुन् ।
बस काउन्टरमा भाडाँदर नराखेको, आरक्षण सीटमा अन्य यात्रु राखेको, सीट क्षमता भन्दा बढी यात्रुको टिकट समितिबाट चलान गरेर पठाएको, दशैंमा यात्रुको चाप बढी हुने भएकाले थप गाडीहरु भनेजस्तो नथपेको, गाडी पुराना हालेर जोखिम बढाएको र नयाँ भाडादर कायम नगरी पुरानै भाडाँदरमा टिकट काटेको बसपार्क अनुगमन गर्दा पाईएको डिआईजी ढकालले बताए ।
पहिलो पटकलाई सचेत गराएको र फेरी पनि भाडाँदरदेखि सिटक्षमता अनुसार भएनभएको चेकजाँच गरिने र कार्वाहीको प्रकृया थालिने उनले बताए । उनले समितिका कर्मचारी, चालक र यात्रुसंग भेटेर कुरा गरेका थिए ।
यात्रुहरु बढी हालेर गन्तब्यतिर जाने गाडीहरुलाई ट्राफिक प्रहरीले घण्टौंसम्म रोक्ने गरेको गुनासो समेत यात्रुहरुले गरेका छन् । जसले गर्दा सिटमा टिकट काटेर घर हिडेँका यात्रुहरुलाई समस्या हुने गरेको छ ।
बसपार्क र पोष्टमा बसेका ट्राफिकले चलान र यात्रुसंख्या हेरे मात्र पुग्ने भएपनि सवारीधनीसंगको मिलोमत्तोमा गाडीभरी सामान र यात्रुहरु छोड्ने गरेको गुनासो समेत आएको छ । जसले गर्दा दुर्घटना जोखिम बढाउने गरेको छ ।