☰ open Loading... 18 October 2024|  

सल्यानमा ८ सय १२ घरमा धारा पु-याउन योजना सञ्चालनमा
पश्चिम नेपाल   | १५ कार्तिक २०८०, बुधबार ०९:५६

 

सल्यान । उपभोक्ताको घरघरमा सुरक्षित खानेपानीको पहुँच पु-याउन सल्यानको छत्रेश्वरी गाउँपालिकामा यस वर्ष ६ वटा खानेपानी योजनाको काम सुरु भएको छ । चालू आर्थिक वर्षमा २०८०–२०८१ मा छत्रेश्वरी गाउँपालिकामा ६ वटा खानेपानी योजना र चारवटा शौचालय निर्माणका योजना सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

यस वर्ष ६ वटा वडाका ८ सय १२ घरधुरीमा शुद्ध, सफा र स्वच्छ खानेपानी पु¥याउने लक्ष्य रहेको गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले जानकारी दिए । गाउँपालिकाको वास प्लानअनुसार यस वर्ष प्राथमिकीकरणमा परेका पाँचवटा खानेपानी योजनाको पुनर्निर्माण, मर्मत र एउटा नयाँ लिफ्ट प्रणालीको योजना सम्पन्न गर्नेगरी प्रक्रिया आगाडि बढिसकेको उनको भनाइ छ ।

छत्रेश्वरी गाउँपालिकाले नेपाल सरकार, फिनल्यान्ड सरकार, युरोपियन युनियनसँगको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) योजनाअन्तर्गत खानेपानी तथा सरसफाइ क्षेत्रको समस्या समाधान गर्न योजना तथा कार्यक्रम सञ्चालन गरेको हो ।

गाउँपालिकाको वास इकाईका अनुसार छत्रेश्वरीको वडा नम्बर १ मा दुधेलीगैरा खानेपानी योजना, वडा नम्बर २ मा पांग्रे खोला दमाचौर खानेपानी योजना, वडा नम्बर ३ मा बिउरे खोला दारीमज्युला खानेपानी योजना, वडा नम्बर ४ मा ढुंगाखानी हाँरिचौर खानेपानी योजना र वडा नम्बर ६ मा छहरे खोला खानेपानी योजनाको मर्मत एवं पुनर्निर्माणको काम हुने छ भने वडा नम्बर ५ मा ढोरला चौर लिफ्ट खानेपानीको नयाँ योजना सम्पन्न हुनेछ ।

यस्तै, तीनवटा सामुदायिक विद्यालय र एउटा सामुदायिक भवनमा वाससहितको शौचालय निर्माण हुने पनि गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । उनका अनुसार जानकी मावि वडा नम्बर ३, लक्ष्मी मावि वडा नम्बर ४, सामुदायिक भवन गरिपारे वडा नम्बर ५ र नवदुर्गा आवि वडा नम्बर ७ मा वास शौचालय निर्माण हुनेछ ।

लैंगिक समता, अपांगता तथा सामाजिक समावेशीकरण मैत्री संरचना निर्माण हुने संयोजक केसीले जानकारी दिए । ३० चरणमा योजना सम्पन्न हुने जानकारी दिँदै उनले यस वर्ष ८ सय १२ घरधुरीमा एक घर, एक धारा पु¥याइने र पानी शुद्धीकरणका लागि प्रत्येक योजनामा ‘इनलाइन क्लोरिनेसन’ राखिने उल्लेख गरे ।

सबै योजनाको उपभोक्ता समिति गठन भइसकेको छ भने समितिका पदाधिकारीलाई अभिमुखीकरण, योजना सञ्चालन हुने ६ वटै वडामा वडास्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरिएको केसीले जनाए ।

उपभोक्ता समितिलाई सरसफाइ र स्वच्छता, लैंगिक समता, अपांगता तथा सामाजिक समावेशीकरण, घरबारी व्यवस्थापन, बालबालिकाको सरसफाइ व्यवस्थापनलगायतका विषयमा अभिभुखीकरण गरिएको छत्रेश्वरीको वास इकाइले जनाएको छ ।

यस वर्ष सञ्चालन हुने केही योजनाको सर्वे, डिजाइनको काम सम्पन्न भइसकेको र केही योजनामा सर्वेको काम भइरहेको प्राविधिक सहजकर्ता गम्भीरजंग चन्दले जानकारी दिए ।

योजना सञ्चालनका लागि कति बजेट आवश्यक पर्छ भन्ने यकिन गर्न लागत अनुमान तयार भइरहेको पनि उनले जनाए । यही मंसिर महिनासम्ममा सम्पूर्ण योजनाको लागत अनुमान तयार भइसक्नेछ भने एउटा वास शौचालय निर्माणका लागि करिब १० लाख रकम खर्च हुनेछ ।

खानेपानी योजनालाई पारदर्शी, दिगो बनाउन गाउँपालिकाको वास समितिबाट हुने अनुगमनलाई प्रभावकारी बनाइने गाउँपालिका अध्यक्ष बुढाथोकीले बताए । उनले वडा तथा वस्ती स्तरबाट पनि अनुगमन, योजनामा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

पालिकाको र सुस्वाको संयुक्त लगानीमा छत्रेश्वरीका नागरिकलाई शुद्ध खानेपानी, घरआँगन सफा, वातावरण संरक्षणका क्षेत्रमा देखिनेगरी काम गर्ने गाउँपालिकाले जनाएको छ । वास प्लानअनुसार आगामी वर्ष फेरि अन्य स्थानका योजना सञ्चालन हुने बताइएको छ ।