☰ open Loading... 21 May 2024|  

पश्चिम नेपाललाई चेतावनी
पश्चिम नेपाल   | १९ कार्तिक २०८०, आईतवार ११:४२

जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पबाट १५७ जनाको ज्यान गएको छ । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमका हजारौं घर भत्किएका छन् । स्थानीय प्रशासन र जनप्रतिनिधिहरूका अनुसार जाजरकोट तथा रुकुम पश्चिमका धेरैमा घरमा क्षति पुगेको छ । कैयौं घर बस्नै नमिल्नेगरी भत्किएका छन् । आठ वर्षअघि २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पनि ठुलो धनजनको क्षति भएको थियो । त्यसपछि पनि भूकम्प गइरहे । तर जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले अहिले ठुलो क्षति भएको छ ।

बारेकोट केन्द्रबिन्दु बनाएर शुक्रबार राति ११ः४७ बजे ६.४ रेक्टर स्केलको भूकम्पको गएको थियो । यो परकम्प नभएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । शुक्रबार राति ११ः४७ बजेपछि १२ः ०८ बजे ४.५, १२: २९ बजे ४.२ र १२:३५ बजे ४.३ रेक्टर स्केलका परकम्प गएका थिए । शनिबार साँझसम्म सयौं परकम्प गइसकेका छन् ।

भूकम्पविद्हरूका अनुसार ६.४ रेक्टर स्केललाई मझौला खालको भूकम्प मानिन्छ । भूकम्पविद्रले ४ रेक्टर स्केलभन्दा कमलाई सानो, ४ देखि ६.९ रेक्टर स्केलसम्मलाई मझौला र ७ रेक्टर स्केलभन्दा माथिलाई विनासकारी भूकम्प भनेर पहिचान गरेका छन् । मझौला भूकम्पले सामान्यतयाः घर चर्कनेसम्मको क्षति पुर्‍याउने बताइन्छ । मानवीय क्षति भने निकै कम मात्रै हुन सक्ने अनुमान गरिन्छ । तर जाजरकोटमा गएको मझौला खालको भूकम्पबाट भने अनुमानविपरीत जनधनको क्षति भएको छ । मझौला भूकम्पबाट ठुलो क्षति पुग्नुले नेपालको पश्चिम नेपाल भूकम्पीय जोखिममा रहेको प्रष्ट भएको छ । यसले पश्चिम क्षेत्रमा भूकम्पीय जोखिमको ऐना देखाएको टिप्पणी भूकम्पविद्ले गरेका छन् । ‘यसले राज्यलाई आफ्नो भूगोलमा भूकम्पीय जोखिम कति छ भन्ने प्रष्ट ऐना देखाएको छ,’ भूकम्पविद् डा. मुकुन्द भट्टराई भन्छन्, ‘मझौला भूकम्पले त यत्रो क्षति पुग्यो भने विनासकारीले कत्तिको क्षति होला । यो तथ्य राज्यले बुझ्नुपर्छ ।’

भट्टराईको जस्तै धारणा वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीको पनि छ । ‘यो भूकम्पले हाम्रा घर तथा भौतिक संरचना कति कमजोर छन् भन्ने तथ्य पनि उजागर पारेको छ,’ उनले भने, ‘कमजोर संरचनाले सानासाना भूकम्पको धक्का पनि थेग्न सक्दैनन् । अहिले भएको यही हो ।’

जाजरकोट भूकम्पले पश्चिमी क्षेत्र, त्यसमा पनि जाजरकोट र रुकुम पश्चिमको सामाजिक तथा आर्थिक स्तर पनि छ्याङ पारेको भूगर्भविद् इन्द्र लम्साल बताउँछन् । त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापकसमेत रहेका उनी भन्छन्, ‘गरिबीमा रहेका परिवारले घर बनाउँदा ओतमात्रै पुग्ने बनाउँछन् । यसरी बनाइएका घर भूकम्पको सानो धक्कासमेत सहन नसकेर भत्केका हुन् ।’

जोखिम कायमै

पश्चिम क्षेत्रमा भूकम्पको जोखिम कायमै छ । भूकम्पविद्हरूका अनुसार गोरखादेखि पश्चिमको क्षेत्रमा भूकम्पको जोखिम कति छ भन्ने यो ‘ट्रेलर’ मात्रै हो । यस्तै ट्रेलर गत असोज १६ गते बझाङमा गएको ६.३ रेक्टर स्केलको भूकम्प र गत वर्षको कात्तिक २२ गते डोटीमा गएको ६.६ रेक्टर स्केलको भूकम्पले देखाइसकेका छन् । बझाङ भूकम्पबाट बझाङमा एकजनाको मृत्यु भएको थियो । बझाङ र बाजुरामा सयौं घर भत्किएका थिए भने दसौं हजार घरमा क्षति पुगेको थियो । यस्तै ६ जनाका ज्यान लिएको डोटी भूकम्पले डोटी र अछामका सयौं घरमा क्षति पुगेको थियो ।

यसरी मझौला भूकम्पबाट भएको क्षतिले ठूलो भूकम्पबाट हुने क्षति निकै डरलाग्दो हुने देखिएको भूकम्पविद् बताउँछन् । भूकम्पीय जोखिम भूगर्भमा सञ्चित शक्ति र मानिसले बनाएका संरचनाले निर्धारण गर्ने विज्ञ बताउँछन् । ‘पहिलो जोखिम भनेको स्वयं भूकम्पको शक्ति र तीव्रता हो । जति धेरै भूगर्भमा शक्ति सञ्चित छ, त्यति नै बढी शक्तिशाली भूकम्प आउने हो । शक्तिशाली भूकम्पले पुर्‍याउने क्षतिको जोखिम ठुलै स्केलमा हुन्छ,’ भूकम्पविद् भट्टराई भन्छन्, ‘दोस्रो जोखिम हामीले बस्न वा अन्य प्रयोजनका लागि बनाएका संरचना हुन् । हाम्रा संरचना कमजोर भए भूकम्प आउँदा ढलेर मानवीय क्षति हुन्छ ।’

जानकारहरूका अनुसार नेपालको पश्चिम क्षेत्रम भौगर्भिक शक्ति र संरचना दुवै कारणले अत्यधिक जोखिम छ । उसै पनि पश्चिम नेपालमा करिब ५७५ वर्षदेखि विनासकारी भूकम्प गएको छैन । १५०५ सालमा मुस्ताङ आसपास केन्द्रबिन्दु भएर ८.५ देखि ८.७ रेक्टर स्केलसम्मको भूकम्प गएको थियो । त्यसयता पश्चिम क्षेत्रमा ठुलो भूकम्प गएको छैन ।

यसरी लामो समयसम्म ठुलो भूकम्प नजानुको अर्थ भूकम्पीय जोखिम छैन भन्ने बुझ्न नहुने भूगर्भविद् एवं युनिभर्सिटी अफ एरिजोना (अमेरिका) का प्रोफेसर डा. टंकप्रसाद ओझा बताउँछन् । उनले नेपालको पश्चिम क्षेत्रको भौगर्भिक अध्ययन गरिरहेका छन् । उनका अनुसार पाँच करोड ५० लाख वर्ष पहिला इन्डियन प्लेट र एसियन प्लेट एकआपसमा ठोक्किदाँ नेपालको हिमाल निर्माण भएको हो । ‘दुई प्लेटको टकराव निरन्तर चलिरहन्छ । यसैले यो क्षेत्र निकै अस्थिर मानिन्छ,’ उनले भने, ‘त्यो टकरावको शक्ति भूगर्भमा सञ्चित भइरहन्छ । त्यो शक्ति बाहिर निस्कँदा भूकम्प आउने हो ।’

यसमा वरिष्ठ भूकम्पविद् अधिकारी पनि सहमत छन् । ‘लामो समयसम्म ठुलो भूकम्प नजाँदा भौगर्भिक शक्ति सञ्चित भइरहेको हुन्छ । त्यो शक्ति भूकम्प बनेर बाहिर आउने हो,’ उनले भने, ‘नेपालको पश्चिम क्षेत्रमा जतिबेला पनि भूकम्पको खतरा छ ।’ पछिल्लो समय साना तथा मझौला भूकम्प गइरहँदा पनि भूगर्भमा शक्तिको सञ्चय अत्यधिक रहेको बुझ्न सकिने अधिकारी बताउँछन् । यी भूकम्पले भूगर्भमा सञ्चित शक्ति कति कम भएको छ भन्न नसकिने उनले बताए ।

‘पश्चिममा लामो समयसम्म ठुलो भूकम्प गएको छैन । यसले ठूलै शक्ति सञ्चित रहेको अनुमान गर्न सकिन्छ,’ अधिकारी भन्छन्, ‘अहिलेका साना र मझौला भूकम्पले सञ्चित शक्ति घटाएको विश्वास गर्न गाह्रो छ ।’ उनका अनुसार भूगर्भमा सञ्चित भएको शक्ति घटाउन एक रेक्टर स्केलले ३२ गुणाको फरक पर्छ । ‘उदाहरणका लागि ८ रेक्टर स्केल बराबरको शक्ति सञ्चित भएको छ भने ७ रेक्टर स्केलका ३२ वटा भूकम्पले मात्र त्यो शक्ति कम गर्न सक्छ । त्यो शक्ति हटाउन ६ रेक्टर स्केलका १०२४ वटा भूकम्प जानुपर्छ,’ उनले भने ।

‘पूर्वी क्षेत्रमा १९९० सालमा भूकम्प गयो । त्यसले धेरै क्षति पु¥यायो । त्यसपछि नयाँ घर बन्दा केही सावधानी अपनाइयो । २०७२ सालमा फेरि भूकम्प जाँदा लगभग पुराना घर सकिए, पहिलेभन्दा कम क्षति भयो । अहिले नयाँ घर निकै सावधानीपूर्वक बनाइँदैछ । यसले अब त्यत्तिकै ठुलो भूकम्प आउँदा अझै कम क्षति हुन्छ,’ अधिकारी भन्छन्, ‘पश्चिम क्षेत्रमा त्यस्तो भएन । पुराना घर संरचना आफैं जोखिममा छन्, त्यसमाथि अझै असुरक्षित घर बनाउने क्रम रोकिएको छैन । यस्तो लापरबाही अब गर्न हुन्न ।’ आफू बझाङ जाँदा ढुंगामाथि ढुंगामात्रै राखेर बाहिरबाट प्लास्टर गरेर चारपाँच तलासम्मका घर बनाएको देखेको उनले बताए । ‘चेतनाको अभावमा यस्तो गरिएको हो । यस्ता संरचना भएका ठाउँमा भूकम्प जाँदा जोखिम बढी हुन्छ,’ उनले भने ।