☰ open Loading... 20 September 2024|  

कर्णाली भूकम्प: अब के गर्ने?
गोविन्दराज पोखरेल   | १९ कार्तिक २०८०, आईतवार १२:३९

कर्णाली प्रदेशको जाजरकोटस्थित रामीडाँडा केन्द्र भएर गत शुक्रबार राति ११:४७ बजे ६.४ म्याग्नेच्युडको भूकम्प गयो।

भूकम्पबाट ठूलो जनधनको क्षति भएको छ।

जाजरकोट र छिमेकी रूकुम पश्चिममा गरी आइतबार बिहानसम्म एक सय ५७ जनाको मृत्यु भएको छ भने करिब दुई सय जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जाजरकोटमा शुक्रबारपछि पनि साना भूकम्प गइरहेका छन्।

जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामीडाँडा केन्द्र भएर आइतबार दुई पटक भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। राति १ बजेर २२ मिनेटमा ४ म्याग्नेच्युड र बिहान ४:५३ बजे ३.८ म्याग्नेच्युडको भूकम्प गएको थियो।

अब कर्णालीमा के गर्ने त?

१. पहिले जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा सबै तहका सरकार र अरु संघसस्थाहरूले राहत, उद्धारमा काँधमा काँध जोडौं। चुस्त एकद्वार प्रणाली अपनाऔं।

२. २०७२ को भूकम्पका बेलाजस्तै दुईपाता जस्ता वा अन्य सामाग्री प्रयोग गरी आवश्यकतानुसार जाडोमा अस्थायी बस्ने ठाउँ बनाउने अभियान स्थानीय सरकारले सहयोगी सरोकारवालासँग समन्वय गरेर गरौं। किनकी घर पुनर्निर्माणमा समय लाग्छ।

३. राष्ट्रिय योजना आयोगले प्रदेशका आयोगसँग मिलेर आवश्यकताको आकलन गरौं।

– अहिले क्षति भएकोलाई पुनर्निर्माण गर्न।

– नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जोखिमयुक्त बस्ती र घर तथा सार्वजनिक भवनलाई प्रवलीकरण गर्न आवश्यक रकम र कार्य योजना एक महिनामा सबै स्थानीय सरकारको सहयोगमा तयार गरौं।

४. सम्बन्धित पालिका, प्रदेश सरकार र राष्ट्रिय विपद् न्यूनिकरण तथा व्यवस्थापन केन्द्र मिलेर स्थानीय सरकारले क्षमता विकास, सीप विकास, पुनर्निर्माण, प्रवलीकरण र आवश्यकतानुसार जोखिम बस्ती स्थानान्तरण गरौं।

५. यहिबेला सरकारले डिल्लीराज खनाललगायत अरू समिति/आयोगका सार्वजनिक खर्च कटौतीका सुझाव लागु गरौं, आन्तरिकरुपमा र बाहिरी सहयोगबाट आवश्यक रकमको जोहो गरौं।

६. हामीसँग पुराना कार्य योजना, कार्यविधि, मापदण्ड, सफलता र विफलताका कथा र सम्झना छन्। तिनीहरूको प्रयोग गरेर प्रभावित परिवार समुदाय र भविष्यमा प्रभावित हुन सक्ने जोखिम समुदायलाई दरिलो र बलियो बनाऔं।

(पोखरेल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वसिइओ र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन्)