☰ open Loading... 20 September 2024|  

जाजरकोटमा ९ सय बढी घर पूर्ण रुपमा भत्कियो
पश्चिम नेपाल   | १९ कार्तिक २०८०, आईतवार १६:१५

भुकम्पका कारण जाजरकोटमा मात्रै नौं सय पाँच घर पूर्ण रुपमा क्षती भएका छन् । जिल्ला प्रशासन कार्यालय जाजरकोटको प्रारम्भिक तथ्याङ्क अनुसार तीन हजार ६५० घरमा क्षती पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार सबैभन्दा धेरै भेरी नगरपालिकामा ३ सय ४४ वटा घर पूर्णरुपले क्षतिग्रस्त भएका छन् । नलगाड नगरपालिकामा २ सय घरमा क्षति पुग्दा छेडागाड नगरपालिकामा एक सय घरमा क्षति पुगेको छ ।

त्यस्तै, कुशे गाउँपालिकामा ९५, बारेकोट गाउँपालिकामा १ सय ६०, शिवालय गाउँपालिकामा १ र जुनिचाँदे गाउँपालिकामा ५ घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

भूकम्पका कारण जाजरकोटमा मात्रै १ सय ५ जनाको मृत्यु भएको छ । मृतकमध्ये सबैभन्दा धेरै नलगाड नगरपालिकाका छन् ।
प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार नलगाड नगरपालिकाका मात्रै ५५ जनाको मृत्यु भएको छ । भेरी नगरपालिकाका ३८, छेडागाड नगरपालिकाका १, कुशे गाउँपालिकाका ७ र बारेकोट गाउँपालिकामा ४ जनाको मृत्यु भएको छ ।

शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५७ जनाको मृत्यु भएको छ ।